मधेश प्रदेश

सुनसरीको कप्तानगञ्ज घटनामा फरेन्सिक जाँच हुन्छ : गृहमन्त्री गुरुङ

नवलपुर टुडे
२०८३ साउन १५ | बिहान ११:०४ बजे

काठमाडौं । सुनसरीको कप्तानजञ्ज घटनाको विषयमा निष्पक्ष छानबिन हुने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । उनले घटनामा गोली चलेको विषयमा फरेन्सिक जाँच हुने बताए । पत्रकारसँग गृहमन्त्री गुरुङले छानबिन गर्नुपर्ने धेरै कुरा रहेका बताउँदै भने, “सबै समुदायको मठ–मन्दिर, धार्मिक क्षेत्र, मस्जिद आदि धेरैमा छानबिन गर्नुपर्ने छ । कुनै एक समुदायको मात्र होइन ।”

दर्ता नभएका धेरै मदरसाह सञ्चालनमा रहेको भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “पहिले हामी थिएनौँ, अब गर्छौं ।”  यति ठूलो घटना हुँदा समेत गृहमन्त्री नआएको भन्ने प्रश्नमा गुरुङले गृहमन्त्रालयको जिम्मेवारी शान्ति सुव्यवस्था कायम गराउन सबै रणनीति बनाउने रहेको बताए ।

“म यहाँ आएर मात्र भएर हुने होइन, प्रधानमन्त्री, सुरक्षा अधिकारी सबैसँग मिलेर सल्लाह र छलफल हुने हो,” उनले भने, “गृहमन्त्री आउनु पर्छ भन्ने आशा गर्नु स्वभाविक हो । तर, अन्यत्र पनि केही समस्या देखिएका छन् । पहिले घाइतेको स्वास्थ्य उपचार हुनुपर्छ भन्ने हो ।

सुरक्षा रणनीतिका लागि प्रधानमन्त्रीदेखि सुरक्षा प्रमुखहरूसँग पनि छलफल गर्नुपर्ने थियो, गरियो पनि ।” उनले नेपाल सबै जात, भेषभुषा र भाषाभाषीको भएको बताए । उनले सरकारले जनचाहना अनुसार नै काम गर्ने आश्वासन दिए ।

कमेन्टहरु