कपिलवस्तुको विजयनगरस्थित गणेशपुर स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा, तथा नयाँ भवन उद्घाटन


कपिलवस्तु, साउन १५। कपिलवस्तुको विजयनगर गाउँपालिका–७ स्थित गणेशपुर स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणित, घोषणा तथा नयाँ भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममार्फत गणेशपुर स्वास्थ्य चौकीलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था का रूपमा औपचारिक घोषणा गरिएको हो। साथै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण सम्पन्न भएको नयाँ भवनको समेत उद्घाटन गरिएको छ।
विजयनगर गाउँपालिकाको स्वास्थ्य शाखा तथा किशोर अधिकार मञ्चको समन्वय, गणेशपुर स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, किशोरकिशोरी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कालिका संस्था र Amplify Change को सहयोग रहेको थियो।
वक्ताहरूले किशोरकिशोरीलाई सुरक्षित, गोपनीय तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै नयाँ भवन सञ्चालनसँगै सेवा प्रवाह अझ सहज र व्यवस्थित हुने बताएका थिए।
कार्यक्रमले गणेशपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको नमूना संस्थाका रूपमा स्थापित गर्दै स्थानीय नागरिकलाई अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
























