मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
गर्भवती आमा बाटोमै सन्तान जन्माउनुपर्ने बाध्यता


बाजुरा, साउन १५ । स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती आमाले स्वास्थ्य संस्थासम्म पुग्न नपाउँदै बाटोमै सन्तान जन्माउनुपर्ने अवस्था दोहोरिएको बाजुराका लागी थपिने एक घटना हाे । स्वामीकार्तिक खापर गाउँपालिका-२ का हिर बुढाकी श्रीमतीले दोस्रो सन्तानका रुपमा छोरालाई बाटोमै जन्म दिएकी हुन्।
कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद आमा र नवजात शिशु दुवै सकुशल रहन सफल भएका छन्। यो एउटा परिवारका लागि खुसीको खबर भएपनि राज्यका लागि भने गम्भीर प्रश्न हो ? आज पनि गर्भवती महिलाले सुरक्षित प्रसूति सेवाका लागि बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था किन छ ?
यस कठिन परिस्थितिमा आमा र शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वामीकार्तिक खापर गाउँपालिका-२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत नमुना खत्री प्रति स्थानीयले हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन्। सीमित स्रोत-साधन र कठिन भौगोलिक अवस्थाबीच स्वास्थ्यकर्मीले देखाएको तत्परता र जिम्मेवारी प्रशंसनीय रहेको स्थानीयको भनाइ छ।
आमा र बच्चा बाँच्न सफल भए। परिवारमा खुसी छायो। तर, यो घटनाले बाजुराका दुर्गम बस्तीमा अझै पनि स्वास्थ्य सेवा लिन जाने सहज सडक र यातायातको पहुँच कति कमजोर छ भन्ने यथार्थलाई उजागर गरेको छ। सरकारलाई प्रश्न छ एम्बुलेन्स र चारपांग्रे सवारी साधनको कुरा त परै छोडौँ, कम्तीमा चारजना मानिसले काँधमा स्टेचर राखेर गर्भवती महिला, बिरामी, वृद्धवृद्धा र आपत्कालीन अवस्थाका नागरिकलाई घरदेखि स्वास्थ्य संस्था वा सम्बन्धित स्थानसम्म सहज ?पमा पुर्याउन सक्ने बाटो बनाउन कहिले प्राथमिकता दिइन्छ ?
देशका शहरहरुमा ठूला विकास आयोजना र आधुनिक स्वास्थ्य सेवाको चर्चा भइरहँदा दुर्गम गाउँमा भने प्रसूति व्यथा लागेकी महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन समेत बाटोको अभाव हुनु केवल भौगोलिक कठिनाइ होइन, राज्यको विकास प्राथमिकतामाथि उठेको गम्भीर प्रश्न हो।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान अब यस्ता दुर्गम बस्तीका आधारभूत आवश्यकता तर्फ जान जरुरी छ। नागरिकले विलासिताका पूर्वाधार मागेका होइनन् जीवन बचाउन सक्ने बाटो मागेका हुन्। आज स्वामीकार्तिक खापर-२ मा एउटी आमाले बाटोमै बच्चा जन्माइन् र संयोगले आमा-बच्चा दुवै बाँच्न सफल भए।
तर भोली त्यहीँ बाटोमा अर्को गर्भवती आमाको भाग्य यति अनुकूल नहुन सक्छ। त्यसैले यो घटना एउटा परिवारको खुसीमा मात्र सीमित नरहोस्। सरकारले यसलाई चेतावनीका रुपमा लियोस्। दुर्गम बस्तीका नागरिकलाई अस्पतालसम्म पुग्ने बाटो देओस्, सुरक्षित प्रसूति सेवा पाउने अधिकार सुनिश्चित गरोस् र ‘स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारालाई व्यवहारमै उतारोस्। हिर बुढाको परिवारमा दोस्रो सन्तानका रुपमा जन्मिएको छोरालाई हार्दिक बधाई तथा आमा-शिशुको जीवन रक्षामा योगदान पुर्याउने स्वास्थ्यकर्मी नमुना खत्री प्रति हार्दिक सम्मान।





















