देश

डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिले कसैको हित गर्दैन : आईजीपी (भिडियो सम्बोधनसहित)

नवलपुर टुडे
२०८३ साउन १५ | बिहान ०७:०४ बजे

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न विशेष अपिल गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक भिडियो सन्देशमार्फत नेपाली समाजको मुख्य पहिचान नै ‘विविधतामा एकता’ भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

कार्कीले विशेषगरी पूर्वी तराईका केही स्थानहरूमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिहरू देखिएको भन्दै यस्ता कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानूनको उल्लंघन गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने उनको निष्कर्ष छ।

भिडियो सन्देशमा  कार्कीले भनेका छन्, “हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।” उनले यो संवेदनशील समयमा अफवाह र घृणा फैलाउनुको सट्टा विवेक, संयम र सद्भावको बाटो अपनाउन सबैमा आग्रह गरेका छन् । अर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको सन्देशमा उल्लेख छ।

नेपाल प्रहरीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सम्मान र सहिष्णुताका साथ एक-अर्काको संस्कृति र आस्थाको सम्मान गर्न अपिल गरेको छ। साथै, राष्ट्रिय एकता र भाइचारालाई मजबुत बनाउँदै सामाजिक शान्ति कायम राख्ने कार्यमा सहयोग गर्न प्रहरीले सबै नागरिकसँग अनुरोध गरेको छ।

कमेन्टहरु