धनुषामा कर्फ्युबीच सेना परिचालन


धनुषा । धनुषामा कर्फ्युबीच सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन र स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरेको जनाएको छ । धनुषाका विभिन्न क्षेत्रमा उत्पन्न सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै प्रशासनले बिहीबार दिउँसो ३ः३० बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनका अनुसार, पूर्वतर्फ बेलौनी रोड–एम.क्यू. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिद, उत्तरतर्फ लक्ष्मिनिया हाटबजार चोक (लक्ष्मिनिया गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म र पूर्वमा लक्ष्मीपुर वगेवासम्म तथा दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोक वरपरको क्षेत्रसम्म कर्फ्यु लागु गरिएको छ ।
सो क्षेत्रमा शान्ति व्यवस्थाका लागि नेपाली सेना समेतको आवश्यकता पर्ने देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १(क), २ बमोजिम सेना परिचालन गरिएको प्रशासनले जनाएको छ । कारबाहीका क्रममा शान्ति–सुरक्षाको स्थिति नियन्त्रणमा राख्न आवश्यकताअनुसार न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार नेपाली सेनालाई प्रत्यायोजन गरिएको प्रशासनले जनाएको छ ।





















