मधेशमा बढ्दो तनावबीच सबै स्वास्थ्य संस्था ‘स्ट्यान्डबाइ’ रहन स्वास्थ्यमन्त्री नागेन्द्र साहको निर्देशन


जनकपुरधाम, साउन १४ । मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनाव, द्वन्द्व तथा विभिन्न अप्रिय घटनालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले प्रदेशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाई ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन निर्देशन दिएका छन्।
आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक सन्देश जारी गर्दै मन्त्री साहले वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी प्रदेशअन्तर्गत सञ्चालित सबै सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्था, चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।
उनले कुनै पनि सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई प्रभावकारी रूपमा सामना गर्न आकस्मिक (इमर्जेन्सी) सेवा, एम्बुलेन्स सेवा, विशेषज्ञसहित आवश्यक स्वास्थ्य जनशक्ति, अत्यावश्यक औषधि, रगत, स्वास्थ्य उपकरण तथा अन्य स्वास्थ्य सामग्रीको पर्याप्त उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएका छन्। साथै, स्वास्थ्य सेवामा कुनै प्रकारको अवरोध आउन नदिन २४सै घण्टा तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
मन्त्री साहले नागरिकको जीवन र सुरक्षासँग स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सबै स्वास्थ्य संस्थाबीच आवश्यक समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षा, मानवीय संवेदना तथा गुणस्तरीय स्वास्थ्य सेवाको निरन्तरतालाई सर्वोच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्।
यसैबीच, मन्त्री साहले मधेश प्रदेशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा आमसर्वसाधारणलाई संयमता अपनाउन हार्दिक अपिल गरेका छन्। कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिबाट टाढा रही शान्तिपूर्ण वातावरण कायम राख्न उनले सबैसँग अनुरोध गरेका छन्।
प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाप्रति पूर्ण रूपमा संवेदनशील रहेको र आवश्यक परे जुनसुकै स्वास्थ्य आपत्कालीन अवस्थाको सामना गर्न सम्पूर्ण स्वास्थ्य संयन्त्र तयारी अवस्थामा राखिएको मन्त्री साहका प्रमुख स्वकीय सचिव सुमित सिंहले जानकारी दिएका छन्।





















