दुर्घटना

चितवन गोल्डकपलाई हानामीले मुख्य प्रायोजन गर्ने

नवलपुर टुडे
२०८३ साउन १४ | मध्यान्ह ०८:०४ बजे
चितवन । तेस्रो चितवन गोल्डकपमा हानामी ईन्टरनेशनलले मुख्य प्रायोजन गर्ने भएको छ । आज (बिहीबार) आयोजक भरतपुर फुटबल क्लब बिएफसी र मुख्य प्रायोजक हानामीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा आयोजकका तर्फबाट बिएफसीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धुर्व भुसाल र मुख्य प्रायोजककातर्फबाट हानामी चितवनका प्रवन्ध निर्देशक किशोर सुवेदीले हस्ताक्षर गरे । यससँगै प्रतियोगिताको नाम हानामी चितवन गोल्डकप राखिएको छ ।

हानामी चितवनले लामो समयदेखि बिएफसीलाई प्रायोजन गर्दै आएको छ । गत संस्स्करण प्रतियोगिताको सह प्रायोजक रहेको हानामी यस पटक भने मुख्य प्रायोजक बनेको हो । हानामीले जापानसँगै अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्डलगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श दिदै आएको छ ।

तेस्रो संस्करणको चितवन गोल्डकप भदौ २७ देखि असोज ३ गतेसम्म हुनेछ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रमा हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत उत्कृष्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको  प्लेयर अफ अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस अघि प्रथम संस्करणको चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लब तथा दोस्रो संस्करणको उपाधि बुटवल लुम्बिनी एफसीले जितेको थियो ।

कमेन्टहरु