प्रबास

जोर्डनस्थित अमेरिकी हवाई अड्डामा तीन एफ–३५ लडाकु विमान नष्ट : इरान

एजेन्सी
२०८३ साउन १४ | मध्यान्ह ०५:०४ बजे

तेहरान । जोर्डनको अल–अजराक हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमणमा अमेरिकाका तीन वटा एफ–३५ लडाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ । सो अड्डामा ती लडाकु विमान नष्ट गरिएको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जानकारी दिएको हो ।

सरकारी समाचार संस्था फार्सका अनुसार आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको केश टापुमा गरेको आक्रमणमा एक दम्पती र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप अल–अजराक हवाई अड्डाको र्‍याम्प र मर्मत सम्भार केन्द्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।

उक्त आक्रमणमा तीन वटा एफ–३५ लडाकु विमान पूर्ण रूपमा ध्वस्त भएको, अन्य तीन वटा एफ–३५ मा गम्भीर क्षति पुगेको आईआरजीसीको दाबी छ । यस आक्रमणमा अमेरिकी सैन्य अधिकारी तथा प्राविधिक र मर्मत सम्भार कर्मचारीको मृत्यु भएको समेत जनाइएको छ ।

विज्ञप्तिमा आईआरजीसीले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको आलोचना गर्दै ‘निर्दोष परिवारमाथि राति आक्रमण गर्ने सेनाका लागि हाम्रो क्षेत्रको कुनै स्थान छैन’ भनेको छ । अमेरिकाको सैन्य उपस्थिति अन्त्य नभएसम्म आफ्नो सङ्घर्ष जारी रहने पनि आईआरजीसीले उल्लेख गरेको छ ।

कमेन्टहरु