प्रबास

पाकिस्तानमा राखेको ५ अर्ब डलर निक्षेप तीन वर्षलाई साउदीले गर्‍यो नवीकरण

एजेन्सी
२०८३ साउन १४ | मध्यान्ह ०५:०४ बजे

कराँची । साउदी अरबले पाकिस्तानको केन्द्रीय बैंकमा राखेको ५ अर्ब अमेरिकी डलरको निक्षेप थप तीन वर्षका लागि नवीकरण गरेको छ ।

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेब र पाकिस्तानी केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (एसबीपी) का गभर्नर जमिल अहमदले बुधबार यो खबर पुष्टि गरेका हुन् । जमिल अहमदका अनुसार यो निर्णयले चालु आर्थिक वर्ष २०२६–२७ मा पाकिस्तानमाथि रहेको विदेशी ऋण भुक्तानीको दबाब कम गर्न सहयोग पुग्नेछ ।

उनले चालु आर्थिक वर्षमा पाकिस्तानको विदेशी ऋण भुक्तानी आवश्यकता २६ अर्ब ५० करोड डलरबाट घटेर २१ अर्ब ५० करोड डलरमा झरेको बताए । यसको मुख्य कारण ब्याजदरमा आएको कमीलगायत विभिन्न आर्थिक कारक रहेको उनको भनाइ छ । एसबीपीका अनुसार कुल २१ अर्ब ५ करोड डलर विदेशी ऋण भुक्तानीमध्ये करिब साढे ३ अर्ब डलर ब्याज भुक्तानीका लागि हो । करिब १२ अर्ब डलर केन्द्रीय बैंकमा राखिएका विदेशी निक्षेपसँग सम्बन्धित छ । ३ अर्ब डलर वाणिज्यिक ऋण पुनःवित्त हुने अपेक्षा गरिएको छ । बाँकी करिब ७ अर्ब डलर अन्य विदेशी दायित्वहरू हुन् ।

१२ अर्ब डलर निक्षेपमध्ये ८ अर्ब डलर साउदी अरबबाट आएको बताइएको छ ।

२०२६ को डिसेम्बर र २०२७ को मार्चमा परिपक्व हुने निक्षेप पनि पुनः नवीकरण आवश्यक पर्ने अहमदले बताए । एसबीपीका अनुसार २०२६ को जुलाई १७ सम्म पाकिस्तानको कुल विदेशी मुद्रा सञ्चिति २२ अर्ब ६० करोड डलर पुगेको छ । यसमध्ये १७ अर्ब २० करोड डलर केन्द्रीय बैंकसँग र ५ अर्ब ४० करोड डलर वाणिज्यिक बैंकहरूसँग छ ।

कमेन्टहरु