समाज

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

रासस
२०८३ साउन १४ | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ, साउन १४। सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ ।सन् २०२६ को मे १४ मा हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेलगत्तै क्याम्प–२ झरेर मे १८ मा ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोही सी जुन्जी र नेपाली पथप्रदर्शक निङ्मा तामाङ र दावा नुरु राई शेर्पालाई सम्मान गरिएको हो ।

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ को एउटै सिजनमा ‘नन–स्टप’ ९निरन्तर० दुई हिमालको सफल आरोहण गरेको भन्दै आज सम्मान गर्नुभएको हो ।

अधिकांश आरोही सगरमाथाको सफल आरोहणपछि क्याम्प–४ मा झरेर ल्होत्सेको आरोहण गर्ने गरेपनि सी जुन्जीको टोलीले भने क्याम्प–२ मा झरेर लोत्सेको आरोहण गरेको थियो ।

संयोजक दाहालले सी जुन्जीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गर्नुभयो । “सगरमाथा र ल्होत्सेको लगातार आरोहणले पर्वतारोहीको शारीरिक क्षमता, प्राविधिक सीप र मानसिक दृढताको कडा परीक्षा लिन्छ, सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई थप फराकिलो बनाएको छ”, उहाँले भन्नुभयो ।

उहाँले हिमालसँगको आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो। आफ्नो दिवङ्गत छोरा (प्रकाश दाहाल) ले पनि सगरमाथा आरोहण गरेको स्मरण गर्दै उहाँले हिमाललाई सम्मान गर्ने र सुरक्षित आरोहण गर्ने प्रत्येक पर्वतारोहीप्रति आफ्नो गहिरो आदर रहेको बताउनुभयो ।

उहाँले चीन र नेपालबीचको जनस्तरको पर्वतारोहण सम्बन्धले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आरोही सी जुन्जीले आफ्नो ऐतिहासिक सफलतामा नेपाली गाइडहरूको पूर्ण सहयोग रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि हिमालयन पर्वतारोहण र चीन–नेपालमैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्टहरु