कपिलवस्तुमा टिपरको ठक्करबाट उपचारको क्रममा एकजनाको मृत्यु


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नम्बर ५ बस्ने ३७ वर्षीय सुरज चौधरी रहेका छन्।
सञ्जीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। शिवराज नगरपालिका वडा नम्बर ५ स्थित दक्षिण रहटकोल सडकमा बुधबार राति करिब ११:२० बजे दुर्घटना भएको हो। दुर्घटनामा परेर ती पुरुषको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।
उनलाई प्रारम्भिक उपचारका लागि सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा लगिएको थियो। सञ्जीवनीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान २:०७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेकाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





















