सुनसरीको देवानगञ्ज र आसपासका क्षेत्रहरू बुधवार बिहानदेखि विस्तारै शान्त बन्दै


विराटनगर । आइतवार राति एक जनाको गोली लागेर मृत्यु र दुई दर्जन व्यक्ति घाइते हुने गरी दुई पक्षबीच भएको उग्र झडप र तनावका कारण अशान्त बनेको सुनसरीको देवानगञ्ज र आसपासका क्षेत्रहरू बुधवार बिहानदेखि विस्तारै शान्त बन्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेसँगै र सुरक्षा निकायले कडा निगरानी बढाएपछि स्थितिलाई नियन्त्रणमा आउन थालेको छ ।
मंगलवार राति अबेरसम्म झडप, आगजनी र तोडफोडका घटनाहरू भए पनि बुधवार बिहानैदेखि भने कुनै पनि अप्रिय घटना घटेका छैनन् ।
स्थतिलाई पूर्णरूपमा साम्य पार्न र बिग्रिएको सामाजिक सद्भावलाई पुनः स्थापित गर्न घटना भएको मुख्य स्थान कप्तानगञ्जमा सर्वदलीय बैठक बसेको छ । बैठकमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, सम्पूर्ण वडाका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र गाउँका भद्रभलाद्मीहरूको बाक्लो उपस्थिति थियो ।
बैठकमा राजनीतिक दलका स्थानीय नेता, सामाजिक संघसंस्थाका अगुवाहरू सहभागी थिए । संवादको माध्यमबाट समस्या समाधान गर्ने साथै शान्ति र सद्भाव कायम गर्न उनीहरूले प्रतिबद्धता जनाएका छन् । कुटपिट, तोडफोड, आगजनी, लुटपाट तथा एकअर्काको धनमालमा पुगेको क्षति रोक्न सबैले पहल गर्नुपर्ने विषय बैठकमा उठेको छ । हरिनगर गाउँपालिकाको सर्वपक्षीय बैठकले ७ वटै वडामा शान्ति सुरक्षामा असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बैठकमा सबै जातजाति र समुदायलाई संयमित भई सामाजिक सद्भाव, कायम गरी शान्ति निर्माणका लागि अपिल गर्नुभयो । अध्यक्ष अन्सारीले हरिनगरमा कुनै पनि हालतमा शान्ति सुरक्षा खलबलिन नदिने दाबी गर्दै नेपाल प्रहरी र स्थानीय प्रशासनलाई कडा सुरक्षा व्यवस्था मिलाउन भनिसकिएको बताउनुभयो । देवानगञ्जमा भएको बैठकमा पनि स्थानीय वस्तुस्थिति सुन्ने सुनाउने काम भएको अध्यक्ष वेचनप्रसाद मेहताले बताउनुभयो ।
मृतकका परिवारलाई २ लाख राहतको घोषणा
उता कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको सर्वदलीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो ।
सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न ८ बुँदे निर्णयसमेत गरेको छ । मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यस्तै, सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।
मुख्यमन्त्री कार्कीले संवेदनशील घडीमा सामाजिक सद्भावलाई खलल पुग्ने गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं प्रदेशस्तरका सुरक्षा निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
कप्तानगञ्ज पुग्यो गृह मन्त्रालयको छानबिन समिति
यस्तै सरकारले बनाएको सहसचिव नेतृत्वको छानबिन समिति पनि देवानगञ्जमा पुगेर मृतक परिवार र स्थानीयसँग छलफलमा जुटेको छ । समितिका सदस्यहरूले आइतवार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग पनि भेटघाट गरेको छ ।
सहसचिव थापाले सबैबाट आएका कुरा समेटेर सुझावसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने बताउनुभयो । पीडित परिवारसँगको भेटमा उहाँले भन्नुभयो– ‘सबै मागहरू समेटेर स्थलगत प्रतिवेदन बुझाउँछौँ, फिल्डको यथार्थ बुझाउने हाम्रो काम हो ।’ सरकारले गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव हुनुहुन्छ ।
तर छानबिन समितिमा एसपी विपिन रेग्मीलाई राखिएकोमा भने स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीयहरूले समितिको सदस्यमा रहेका नेपाल प्रहरीका एसपी विपीन रेग्मीले दुई वर्षअघि सुनसरी जिल्लाको प्रहरी प्रमुख हुँदा दमन गरेको आरोप लगाउँदै उहाँलाई हटाउनुपर्ने माग गरेका छन् । गोलीकाण्डका पीडित पक्षले घटनामा संलग्न रहेको आरोप लागेका एक वडा अध्यक्षलाई तत्काल निलम्बन गर्न तथा पीडित परिवारको जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पीडित पक्षका अनुसार प्रभावित क्षेत्रमा करिब ६० घरधुरी रहेका छन् । हाल उनीहरू खाद्यान्न अभावमा रहेको भन्दै तत्काल राहतस्वरूप रासन उपलब्ध गराउन पनि माग गरिएको छ ।
सर्वदलीय बैठकद्वारा संयमताको अपिल
प्रधानमन्त्रीको नेतृत्वमाथि प्रश्न, सुरक्षा संयन्त्र सक्रिय
सुनसरीको देवानगञ्जमा उत्पन्न साम्प्रदायिक तनावले राष्ट्रिय राजनीति, सुरक्षा संयन्त्र र सामाजिक सद्भावबारे गम्भीर बहस सुरु गराएको छ । घटनापछि सरकारको संकट व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्न थालेका छन् भने विभिन्न राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजले शान्ति, संयम र कानुनी शासन कायम राख्न आग्रह गरेका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको पहलमा सर्वदलीय बैठक बसेपछि सबै दलले संयमता अपनाउन आग्रह गरेका छन् । छलफलमा सहभागी नेताहरूले घटनालाई राजनीतिक वा धार्मिक रूपमा अतिरञ्जित नगर्न, सामाजिक सद्भाव कायम राख्न र कानुन हातमा नलिन सबै पक्षलाई आग्रह गरेका छन् । साथै, सरकारले स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ ।
तर प्रधानमन्त्री बालेन्द्र शाहले भने यस घटनाको अन्त्यका लागि जुन पहल गर्नुपर्ने थियो, त्यो नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शान्तिको अपिल गरे पनि संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रत्यक्ष उच्चस्तरीय समन्वय र राजनीतिक नेतृत्व अपेक्षित रहेको टिप्पणी विभिन्न राजनीतिक वृत्तमा सुनिन थालेको छ । अहिले देवानगञ्जमा भएको घटनामा विभिन्न समुदायको अवैध प्रवेश भएको भन्दै नेपाल प्रहरीले सरकारको ध्यानाकर्षण गराएको छ । विभिन्न देशका शरणार्थी मुस्लिम समूहको प्रवेश भएको भन्ने तथ्य बाहिरिएपछि नेपाल प्रहरीले ती समुदायको बारेमा मिहिन ढंगले अनुसन्धान गरिरहेको छ । रोहिंग्या र पाकिस्तानी शरणार्थीको घटनामा संलग्नता रहेको निष्कर्ष पनि नेपाल प्रहरीले निकालेको छ ।
सरकारका तर्फबाट सुरक्षा निकायलाई शान्ति सुरक्षा कायम राख्न, दोषीको खोजी गर्न र प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइएको जनाइएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा संयन्त्र परिचालन गरिएको छ । कप्तानगञ्जमा नेपाली सेनाले बख्तरबन्द गाडीबाट गस्ती सुरु गरेपछि अहिले स्थिति केही मत्थर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैबीच, विभिन्न राजनीतिक दलले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका छन् ।
देवानगञ्जको घटनाले नेपालजस्तो बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र, स्थानीय प्रशासन र समुदायबीचको समन्वयको महत्वलाई पुनः उजागर गरेको छ । घटनाबाट सबैभन्दा ठूलो सन्देश भनेको कुनै पनि तनावलाई साम्प्रदायिक द्वन्द्वमा रूपान्तरण हुन नदिन राज्य, राजनीतिक दल, धार्मिक नेतृत्व र नागरिक समाज सबैले संयमता अपनाउनुपर्ने आवश्यकता हो ।





















