सुनसरी घटनापछि झापामा सामाजिक सद्भाव जोगाउन प्रशासन सक्रिय, सुरक्षा निकाय ‘हाई अलर्ट’मा


झापा। सुनसरी जिल्लामा भएको हालैको अप्रिय घटनापछि उत्पन्न परिस्थिति तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै झापामा सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ। जिल्लामा धार्मिक तथा सामाजिक सौहार्दता बिग्रन नदिन स्थानीय प्रशासनले सरोकारवालाहरूका साथै विभिन्न समुदायका अगुवाहरूसँगको छलफल र भेटघाटलाई प्राथमिकतामा राखेको छ।
स्थानीय सञ्चारकर्मीहरूसँगको भेटघाटमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विशेष गरी कचनकवल र झापा गाउँपालिकास्थित मुस्लिम बस्तीहरूमा पुगेर स्थानीय अगुवा तथा धार्मिक गुरुहरूसँग प्रत्यक्ष कुराकानी र सहजीकरण गरिरहेको जानकारी दिएका छन्। तल्लो तहसम्मै आपसी भाइचारा र सहिष्णुताको वातावरण बनाउन धार्मिक गुरुहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।
सामाजिक सद्भाव कायम राख्ने प्रयासअन्तर्गत जिल्ला प्रशासन कार्यालयले झापाका १५ वटै स्थानीय तहका प्रमुखहरूसँग छलफल सम्पन्न गरिसकेको छ। स्थानीय तहका वडाहरू तथा तल्लो तहसम्म सद्भाव बैठकहरू आयोजना गरी सजगता अपनाउन पालिका प्रमुखहरूलाई आग्रह गरिएको छ।
सम्भावित अनपेक्षित घटना वा जोखिमलाई ध्यानमा राख्दै झापाका सबै सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको प्रजिअ गेलालले स्पष्ट पारेका छन्। जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा उत्तेजक विषयवस्तुका पछि नलाग्न आम जनसमुदायलाई अपिल गरेको छ।
कुनै पनि भ्रामक तथा गलत सूचनाहरू समाजमा फैलन नदिन र त्यसको तत्काल खण्डन गरी सत्यतथ्य सञ्चार गर्न प्रजिअ गेलालले झापाली सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरेका छन्।






















