प्रवासी नेपाली मञ्च यूएईको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा सुमन कुमार भण्डारी


प्रवास दुबई, यूएई — प्रवासी नेपाली मञ्च (प्रनेम) यूएईको आठौँ राष्ट्रिय अधिवेशन २०२६ जुलाई २६ मा बर दुबईस्थित SK7 क्लबको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सुमन कुमार भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनको अवसरमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत प्रवासी नेपाली मञ्च यूएईको आठौँ राष्ट्रिय अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले प्रवासमा रहेका नेपालीहरूलाई संगठित भई राष्ट्रिय हित, एकता तथा सामाजिक सेवामा सक्रिय रहन आग्रह गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
अधिवेशनमा नेपालबाट पाल्नु भएका नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मध्यपूर्व महादेश कमिटी इन्चार्ज रविन्द्र अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, राष्ट्रिय कमिटी यूएईका इन्चार्ज टकबहादुर गुरुङ, केन्द्रीय सदस्य बाबुराम विश्वकर्मा, मध्यपूर्व कमिटीका संयोजक प्रकाश कोइराला, सदस्य कृष्ण आचार्य लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न वैचारिक संगठनका नेतृत्व, एनआरएनए, नेपाली समाज, नेपाल पत्रकार महासंघ, विभिन्न सामाजिक तथा जिल्लागत संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनबाट अध्यक्षमा सुमन कुमार भण्डारी, उपाध्यक्षमा प्रेमबहादुर अधिकारी, सचिवमा मेघराज कडेल, उपसचिवमा विनोद न्यौपाने र मञ्जु आले सर्वसम्मत निर्वाचित भएका छन्। सदस्यहरूमा चिनबहादुर केसी, कविता पुन, उत्तम खतिवडा, दीपक खनाल, घनश्याम भण्डारी, मीन नेपाली, श्यामबहादुर विश्वकर्मा, सविन बराल, कैलाश भण्डारी, हर्कबहादुर केसी, डम्बर लिम्बु तथा भरत बस्नेत निर्वाचित भएका छन्।
अधिवेशनमा वक्ताहरूले प्रवासी नेपालीहरूको हक–हित संरक्षण, संगठन सुदृढीकरण, सामाजिक एकता तथा मातृभूमिप्रतिको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउन नवनिर्वाचित नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। उत्साहपूर्ण सहभागिता र सौहार्दपूर्ण वातावरणबीच सम्पन्न अधिवेशनले संगठनलाई थप सशक्त र गतिशील बनाउने प्रतिबद्धतासहित समापन भएको आयोजकले जनाएको छ।





















