कोशी प्रदेश, घटना

सुनसरीको कप्तानगञ्जमा हिन्दु-मुस्लिमको नाममा रोपिएको द्वन्द्व अन्त्य कहिले ?

नवलपुर टुडे
२०८३ साउन १२ | मध्यान्ह ०९:०४ बजे

सुनसरी । भारतीय सीमानजिकै रहेको सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्ज गाउँ तीन दिनदेखि अशान्त छ। आइतबार राति करिब १० बजे दुई समुदाय (हिन्दु-मुस्लिम)को नाममा रोपिएको द्वन्द्वको बाछिटाहरू संघीय राजधानी काठमाडौँसम्म फैलिएको छ। मंगलबार काठमाडौँको माइतीघरमा केही व्यक्तिहरूले दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरे।

कप्तानगञ्जमा आइतबार दुई समुदायको विवाद हुँदा प्रहरीको उपस्थितिमा गोली चलेपछि एक जना (३० वर्षीय ओमप्रकाश मेहता)को मृत्यु भयो। २४ जना घाइते भए। त्यस विषयलाई धार्मिक रंग दिँदै कतिपय व्यक्ति तथा समूहहरू प्रदर्शन तथा तोडफोडमा उत्रिएका छन्। देवानगञ्ज गाउँपालिका आसपासका क्षेत्र त सोमबार र मंगलबार पूर्णरुपमा अशान्त बन्यो। साथमा कप्तानगञ्ज गाउँमा रोपिएको द्वन्द्वको बीज कप्तानगञ्जबाट करिब २५ किलोमिटर पूर्वमा रहेको कोशी प्रदेशको राजधानी विराटनगरसम्म फैलिएको छ।

विराटनगरमा मंगलबार विद्यालय खुल्न सकेनन्। बजार पनि खुलेनन्। सोमबार नै कप्तानगञ्जको घटनालाई लिएर विराटनगरमा प्रदर्शन भएको थियो। ‘हिन्दु समाज’को नामबाट भएको प्रदर्शनमा सोमबार साँझ पनि ५ बजेदेखि ७ बजेसम्म विराटनगर बजार बन्द गराइएको थियो। उनीहरूकै आह्वानमा मंगलबार पनि विराटनगरले शान्तिको सास फेर्न पाएन।

आतइबार कप्तानगञ्जमा एक जनाको ज्यान जाने गरी भएको घटनालाई लिएर दुई दिनदेखि सुनसरी त्रासमा छ। आइतबार रातिको घटनालाई लिएर सोमबार बिहानैदेखि कप्तानगञ्जलगायत आसपासका क्षेत्रमा कर्फ्यू लाग्यो। कर्फ्यूमा कप्तानगञ्जसँगै हरिनगर, भुटाह, घुस्की र देवानगन्ज बजार दिनभर पिल्सिएनन् मात्र तोडफोट तथा आगजनीका घटनासमेत बेहोर्नुपर्‍यो। कर्फ्यूकाबीचमा पनि सोमबार यहाँ प्रदर्शन रोकिएन।

प्रदर्शनकारीले वडा नम्बर ३ अध्यक्ष अनिलकुमार भगतको घरमा तोडफोड गरे। उनको घरनजिक रहेको सरकारी नम्बर प्लेटको एउटा मोटरसाइकलमा आगजनी गरे। कप्तानगञ्जको घटनाको बाछिटा सोमबार नै सुनसरीको सदरमुकाम इनरुवामा फैलियो। इनरुवा बजारमा कुटपिटदेखि तोडफोड भयो। आगजनीका घटना भए। राजमार्ग बन्द गरियो। राजमार्गमा बन्द गरिए।

प्रदर्शनलाई साम्य बनाउन सेना परिचालन गरिएपछि केही मत्थर भए पनि अशान्ति भने कायम रहिरह्यो। प्रर्शन तथा तोडफोडका घटना सोमबार राति पनि रोकिएनन्। रातिको समय पूर्वपश्चिम राजमार्गमा केही छिटफुट घटना भएको प्रहरीले जानकारी दिएको छ। केही सर्वसाधारणमाथि कुटपिट भयो।

अर्को दिन आज मंगलबार सुनसरी प्रशासनले घटना भएको स्थान र आसपासमा कर्फ्यू हटाएर निषेधाज्ञा कायम राख्यो। सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले देवानगन्ज गाँउपालिका र हरिनगर गाँउपालिकामा निषेधाज्ञा लगाइएको जानकारी दिए। तर निषेधाज्ञाबीच पनि मंगलबार प्रदर्शन रोकिएन। मंगलबार दिनभर सुनसरीको पकलीदेखि पश्चिम कोशी कटानसम्म पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शनकारी यातायात अवरुद्ध बनाए। जसका कारण सर्वसाधारण सहज यात्रा गर्न पाएनन्।

कप्तानगञ्जका एक स्थानीयले नाम नबताउने सर्तमा आफू त्रासमा रहेको र त्यसकै कारण दुई दिनदेखि बाहिर निस्कन नसकेको बताए। ‘दुई दिन भयो। बाहिर निस्कन सकेको छैन। बाहिर निस्किएपछि कुटपिट भइहाल्ला भन्ने डर छ’, ती स्थानीयले भने ‘घरमै मोबाइल हेरेर बस्नुपरेको छ।’ मंगलबार शान्त हुने अपेक्षामा रहेका सुनसरीवासीलाई थप निषेधाज्ञाबाट कर्फ्यू जारी गरिएपछि थप त्रास थपिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार साँझ अर्को सूचना नआएसम्मका लागि इटहरी–इनरुवा सडकखण्डअन्तर्गत पूर्वपश्चिम राजमार्गमा कर्फ्यू लगाइएको जानकारी दिए।

मंगलबार कोशी गाँउपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा आगजनी तथा तोडफोड भए। राजमार्ग आसपासमा रहेका अस्थायी टहरामा रहेका पसलमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। यसक्षेत्रमा करिब ८/१० वटा होटल तथा पसलमा आगजनी भएको प्रहरीले जानकारी दएको छ। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि स्थिति भने तनावग्रस्त बनेपछि मंगलबार साँझदेखि कर्फ्यू लगाइयो।

मंगलबार भोक्राह नरसिंह गाउँपालिकामा समेत ठूलो संख्यामा सर्वसाधारण सडक निस्किएर प्रदर्शन गरे। जसका कारण कप्तानगञ्ज आसपासका क्षेत्रमा अशान्त त बनेको छ नै स्थानीय त्रासमा रहेका छन्। यसै घटनालाई लिएर इनरुवामा नगर कार्यपालिकाले दुई दिनको शोक बिदा दिएको छ। घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकाले पनि शोक बिदा दिएका छन्।

सुनसरीसँग जोडिएको जिल्ला मोरङ प्रशासनले ठूलो आवाजमा माइकहरू बजाउन रोक लगाएको छ। वडा नम्बर ३ का अध्यक्ष अनिलकुमार भगतले यसअघि कप्तानगञ्जमा यस्तो हिंसात्मक घटना भएको कहिल्यै देखेका थिएनन्। उनको शब्दमा भन्ने हो भने पहिलैदेखि यहाँ ‘मिल्ती’ थियो।

हिन्दु र मुस्लिसम समुदाय मिलेर बसेको कप्तानगञ्जमा कसले द्वन्द्वको बीज रोप्यो? यो अनेकन आशंकाहरू हुने गरेको छ। तर सामान्य झैझगडाले यति ठूलो रुप लिनेमा शंकासमेत नगरेको अध्यक्ष भगत बताउँछन्। ‘यसअघि दुवै सम्प्रदायका मानिसहरूको बसोबास मिल्ती रहेको थियो। युवाहरूसमेत संयम थिए। सानोतिनो समस्या भए पनि मिलेरै बसेको थियौँ। केही पर्दा दुवै समूहलाई राखेर समस्याको हल निकालिने गरिएको थियो’, उनले देशसञ्चारसँग भने ‘सामान्य झैझगडाले यति ठूलो रुप लिने विश्वाससमेत थिएन।’

तर शान्त रहेको कप्तानगञ्ज आइतबारदेखि भने अशान्त भयो। आइतबार रातिको करिब १० बजेको थियो। १० देखि १५ जना युवा समूह साउने सोमबारको जल चढाउनका लागि सप्तकोशी नदी जाने तयारीमा निस्किएका थिए। भजनको डिजे (माइक) बजाउँदै कप्तानगञ्जको नयाँ हाट बजारनजिक रहेको शिव मन्दिर उनीहरु पुगे। मन्दिर आसपास हिन्दु र मुस्लिम समुदायको बसोबास छ। रातिको समय चर्को ध्वनीमा माइक बजाएपछि नजिकैको एक बस्तीबाट केही मानिसहरुले डिजे बन्द गर्न भने।

नयाँ हाट बजार चोक कृषि भवननजिक रहेको छ। जहाँ प्रायः सार्वजनिक कार्यक्रम हुँदै आएको थियो। राति माइक बन्द गर्न भने पनि जल चढाउन हिँडेका युवाहरू तयार भएनन्। उनीहरूबीच केहीबेर चर्काचर्की र भनाभन भयो। नजिकै ड्युटीमा रहेका केही प्रहरी आएर दुवै पक्षलाई सम्झाउँछन्। उनीहरूले सम्झाउने क्रममा माइक बजाउने समूहका मानिसहरुको भीड हुन्छ। वडाध्यक्ष भगतका अनुसार भनाभनले ठूलो रुप लिन्छ।

सँगै विद्युतको पोलबाट बत्तीको प्रकाश एकाएक निभ्छ। त्यसपछि बन्दु पड्किन्छ। वडाध्यक्ष भगत भन्छन्,  ‘सडकको बत्ती निभेको थियो। एकाएक हवाई फायर खुल्यो। केही युवाहरु धमाधम सडकमा लडे। प्रहरी पनि घाइते भए।’ दुवै समूहबीच झडप भएपछि, राति नै सशस्त्र प्रहरी बलको टोली र नेपाल प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। यहीबीचमा गोली लागेका स्थानीय ओमप्रकाश मेहताको मृत्यु भयो भने घटनामा नेपाल प्रहरीका १०, सशस्त्र प्रहरी बलका ५ र सर्वसाधारण ९ जना गरि २४ जना घाइते भए।

कतिपय जानकार यो घटना हुनुमा आइतबारको घटनाले मात्र काम नगरेको बताउँछन्। यहाँ यसअघिको घटनालेसमेत काम गरेको जानकार बताउँछन्। घटना भएको चोक यसअघि सार्वजनिकस्थल थियो। केही वर्ष पहिले यहाँ हुन्दु समुदायले आफ्नो बनाए। तर, सार्वजनिकस्थल भएकाले यहाँ विभिन्न कार्यक्रम हुँदै आएको थियो।

केही समयअघि मोहरमका क्रममा मुस्लिम समुदायका युवाहरूले पनि चोकमा झण्डा राखे। कार्यक्रम सकेर झण्डा ननिकालेपछि स्थानीयमा केही समस्या उत्पन्न भएको जानकार बताउँछन्। झण्डा नझिकेको गुनासो वडादेखि पालिकासम्म पुगेको थियो। मुस्लिम समुदायका युवाहरुले झण्डा नहटाइसकेपछि स्थानीयमा केही समस्या देखिएको वडाध्यक्ष भगतले बताए।

त्यही विषयका कारण पनि यहाँ द्वन्द्व भएको कतिपयको विश्लेषण छ। केही वर्षदेखि वडा नम्बर ३ मा बस्दै आएका एक सरकारकी कर्मचारी भन्छन्– ‘झण्डा राखेको विषयमा विवाद देखिएको थियो। त्यसकै रुप आइतबार विवादमा परिणत भएको हो जस्तो लाग्छ।’

कप्तानगञ्ज घटनापछि सुरक्षा संयन्त्रमा हलचल ल्याएको छ। प्रमुख जिल्ला अधिकारीदेखि जिल्लादेखि प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ भने उनको ठाउँमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ। मंगलबारदेखि उनले सुनसरीको जिम्मेवारी सम्हालेका छन्।

यस्तै, सोमबार नै कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे, सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केशव थेबे, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीलाई जिम्मेवारीबाट हटाइएको थियो. कार्की सोमबार बिहानमात्रै काठमाडौँबाट जिल्ला फर्किएका थिए। केही दिनदेखि कार्की सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेका थिए।

त्यसैगरी, कोशी प्रदेश प्रहरी प्रमुख घिमिरे पनि केही दिनदेखि बिदामा रहेका थिए। सुनसरी प्रहरी प्रमुख थेबे पनि पारिवारिक कारण बिदामै रहेका थिए। उनीहरू बिदामा बसेको समयमा कप्तानजञ्जमा घटना भएपछि गृह मन्त्रालयले सबैलाई एकैपटक जिम्मेवारीबाट हटाएको हो। सरकारले यस घटनाको छानबिन गर्न सोमबार नै सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ।

कमेन्टहरु