युद्धका कारण इरानको ग्यास उत्पादन क्षमता ठुलो क्षति

एजेन्सी
२०८३ साउन १२ | मध्यान्ह ०५:०४ बजे

तेहरान । अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठुलो क्षति बेहोरेको जनाएको छ ।
इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब २३० मिलियन घनमिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको छ । इरान सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले मंगलबार आयोजित टेलिभिजन पत्रकार सम्मेलनमा उक्त जानकारी दिएकी हुन् । उनका अनुसार युद्धका क्रममा ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय असर परेको छ ।
इरानी अधिकारीहरूले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २७० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । युद्धका क्रममा ऊर्जा, उद्योग, यातायात तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको दाबी इरानले गरेको छ ।





















