प्रबास

जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

एजेन्सी
२०८३ साउन १२ | मध्यान्ह ०४:०४ बजे

टोकियो । जापानको दक्षिणी क्युशु क्षेत्रमा मंगलबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले करिब १ मिटर अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी जारी गर्दै सर्वसाधारणलाई समुद्र र तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

भूकम्पको केन्द्र दक्षिणी कुमामोतो प्रान्त आसपास रहेको जनाइएको छ । त्यसपछि सरकारले कुमामोतो, नागासाकी, कागोशिमा, फुकुओका, सागा, ओइता र मियाजाकी प्रान्तका लागि आपत्कालीन भूकम्प चेतावनी जारी गरेको छ ।

अधिकारीहरूले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन् । भूकम्पपछि क्युशु इलेक्ट्रिक पावरले सेंदाइ र जेनकाइ आणविक विद्युत् केन्द्रमा कुनै असामान्य अवस्था वा क्षति नदेखिएको जनाएको छ । यस्तै, जेआर क्युशुले सुरक्षालाई ध्यानमा राख्दै आफ्ना रेल सेवाहरू अस्थायी रूपमा स्थगित गरेको छ । यसमा उच्चगतिको शिन्कान्सेन बुलेट रेल सेवा पनि समावेश छ ।

जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । यो देश प्रशान्त महासागर वरिपरि फैलिएको रिङ अफ फायर क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्छ । विश्वभर हुने  वा सोभन्दा बढी म्याग्निच्यूडका करिब २० प्रतिशत भूकम्प जापानमै हुने अनुमान गरिएको छ ।

यसैबीच, चीनको छिङहाई प्रान्तमा पनि मंगलबार बिहान करिब २० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका छन् । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार पहिलो भूकम्प ५ दशमलव ७ म्याग्निच्युड र दोस्रो ५ दशमलव ८ म्याग्निच्युडको थियो । दुवै भूकम्प जमिनको करिब १० किलोमिटर गहिराइमा केन्द्रित थिए ।

चीनमा ती भूकम्पबाट तत्काल मानवीय क्षति भएको कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । उता जापानमा पनि समाचार तयार पार्दासम्म ठूलो मानवीय वा भौतिक क्षतिको पुष्टि भएको छैन । स्थानीय अधिकारीहरूले स्थिति निरन्तर निगरानी गरिरहेका छन् ।

कमेन्टहरु