सुनसरीको कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड


सुनसरी । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा आगजनी गरिएको छ। सुनसरीको कोशी गाँउपालिका–४ मा राजमार्ग आसपासमा रहेका अस्थायी टहरामा निर्माण भएका पसलमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन्।
उक्त क्षेत्रमा करिब ८/१० वटा होटल तथा पसलमा आगजनी भएको हो। हाल सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। तोडफोड र आगजनीमा होटल–पसल गुमाएकाहरूले क्षतिपूर्तिको माग गरेका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको पकलीदेखि कोशी कटान क्षेत्रसम्म यातायात अवरोध गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार कप्तानगञ्जको अवस्था सामान्य बन्दै गएपनि राजमार्ग क्षेत्रमा आन्दोलन भइरहेको छ। भोक्राह नरसिंह गाउँपालिकामा समेत ठूलो संख्यामा सर्वसाधारण सडक निस्किएका छन्। यसैबीच, इनरुवामा नगर कार्यपालिकाले दुई दिनको शोक बिदा दिएको छ।
घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिकाले पनि शोक बिदा दिएका छन्।





















