माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छः मन्त्री गौतम


चितवन, साउन ११ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताउनुभएको छ । माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भन्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन ।”
मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउँदै निर्वाचन सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “माडीलाई अलौकिक ढङ्गबाट विकास गर्नका लागि हामी एक ठाउँमा उभिऔँ । समाजमा जस्तो पनि टिकाटिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौँ ।”
माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउँछु ।”





















