सुनसरी तनावग्रस्त : कप्तानगञ्ज घटनापछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु (निषेधाज्ञा) लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न रोक लगाउने आदेश जारी गर्नुभएको हो।
प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। आइतबार राति भएको झडपका क्रममा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
साथै, प्रदर्शनका क्रममा गोली लागेर आठ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। यद्यपि, मृतकको मृत्यु कुन सुरक्षा निकायको गोलीबाट भएको हो भन्ने विषयमा आधिकारिक पुष्टि भने भइसकेको छैन। नेपाल प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षपछि मात्रै मृत्युको वास्तविक कारण सार्वजनिक गरिने जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेन्द्र थापाका अनुसार घटनाका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैबाट गोली चलेको थियो।
साथै, झडपमा २४ जनाभन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएका छन्। उहाँले सशस्त्र प्रहरीकै गोली लागेर मृत्यु भएको भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि नभइसकेको स्पष्ट पार्नुभएको छ। घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयम अपनाउन र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ।






















