विवेक मण्डलकी पत्नीलाई दुई महिनाभित्र रोजगारी: वीरेन्द्र प्रसाद सिंह


सर्लाही, साउन ११ । सर्लाही नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको गोडैता नगरपालिका वडा नं १० निवासी स्वर्गीय विवेक मण्डलको परिवारप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्वर्गीय मण्डलकी पत्नीलाई दुई महिनाभित्र उपयुक्त रोजगारीको व्यवस्था गराउने घोषणा गरेका हुन्।
सांसद सिंहले भने, “विवेक मण्डलको दुःखद घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। अब उहाँको परिवारलाई एक्लै छाड्न हुँदैन। उहाँकी पत्नीलाई आत्मनिर्भर बनाउन दुई महिनाभित्र रोजगारीको व्यवस्था गर्न म व्यक्तिगत रूपमा पहल गर्नेछु।” सिंहले केही दिनअघि मधेश प्रदेश सभाको बैठकमा पनि विवेक मण्डलको आत्मदाह प्रयासपछि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
उनले पीडित परिवारलाई तत्काल विशेष राहत प्याकेज, आर्थिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न मधेश प्रदेश सरकारसँग जोडदार माग गरेका थिए। यसैबीच, केही दिन मात्रै स्वर्गीय विवेक मण्डलको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सन्देशसहित सांसद सिंहले शोकाकुल परिवारलाई रु. १ लाख आर्थिक सहयोग प्रदान गरेका छन्। उक्त सहयोग परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उपलब्ध गराइएको उनले बताए।
सांसद सिंहले पीडित परिवारको पीडामा नेपाली कांग्रेस सधैं साथमा रहने विश्वास व्यक्त गर्दै आर्थिक सहयोगमा मात्र सीमित नरही परिवारको भविष्य सुरक्षित बनाउन आवश्यक सबै पहल गरिने स्पष्ट पारे। विशेष गरी विवेक मण्डलकी पत्नीलाई सम्मानजनक रोजगारी उपलब्ध गराई परिवारलाई आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता उनले पुनः दोहोर्याए। उक्त जानकारी नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव तथा सांसद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिएका हुन्।





















