शिक्षा नियमावलीको दशौँ संशोधनविरुद्ध श्रावण १५ गते माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन, माग सम्बोधन नभए अनिश्चितकालीन आन्दोलनको घोषणा


काठमाडौं। शिक्षा नियमावलीको दशौँ संशोधनमा शिक्षक सरुवासम्बन्धी गरिएको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति, नेपाल ले आगामी श्रावण १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
समितिका अनुसार शिक्षकका वास्तविक समस्या, नेपालको भौगोलिक विविधता, पारिवारिक दायित्व तथा व्यावहारिक पक्षलाई बेवास्ता गर्दै ल्याइएको सरुवासम्बन्धी प्रावधानले देशभरका हजारौँ शिक्षक प्रभावित भएका छन्। त्यसैले शिक्षा नियमावलीको दशौँ संशोधनमा रहेका शिक्षकविरोधी तथा अव्यावहारिक प्रावधान तत्काल खारेज गर्न सरकारसँग माग गरिएको छ।
लामो समयदेखि दुर्गम तथा विकट क्षेत्रमा सेवा गरिरहेका शिक्षक, सरुवा पीडित शिक्षक तथा विभिन्न कारणले आफ्नो घरपायक क्षेत्रमा सरुवा हुन नसकेका शिक्षकका समस्यालाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने समितिको भनाइ छ।
समितिले श्रावण १५ गते माइतीघर मण्डलामा हुने विरोध प्रदर्शनमा देशभरका सरुवा पीडित तथा प्रभावित शिक्षकहरूलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।
साथै, शिक्षकका जायज माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै आवश्यक परे अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी समेत समितिले दिएको छ।





















