हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार


सना । यमनका इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी अरबसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै समुद्री नाकाबन्दी घोषणा गरेकै अवस्थामा साउदी कच्चा तेल बोकेका दुई ठुला तेल ट्याङ्कर सफलतापूर्वक बाब अल–मन्देब स्ट्रेट पार गरेका छन् ।
जहाजहरूको वास्तविक समय ट्र्याकिङ गर्ने संस्था मरिन ट्राफिकका अनुसार सिंगापुरको झण्डा बोकेको सिन लङ्ग याङ्ग र हङकङको झण्डा बोकेको कस्न्यू लेक नामका दुई ट्याङ्कर अहिले यमनको तट नजिक एडेनको खाडी हुँदै यात्रा गरिरहेका छन् । यी दुवै जहाजमा गरी करिब ४० लाख ब्यारेल साउदी कच्चा तेल रहेको बताइएको छ ।
समुद्री सुरक्षा जोखिम विश्लेषण गर्ने संस्था मारिस्क्सले हुथीहरूले साउदीसँग सम्बन्धित जहाज भन्ने परिभाषा अझ फराकिलो बनाउन सक्ने चेतावनी दिएको छ । यसअन्तर्गत साउदी बन्दरगाहमा जाने, साउदी तेल बोक्ने वा साउदी व्यावसायिक हितसँग सम्बन्धित विदेशी झण्डावाहक जहाजहरू पनि निशानामा पर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
सुरक्षा जोखिम बढे पनि बेलायतको यूके मरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ)का अनुसार लाल सागर र बाब अल–मन्देब स्ट्रेट हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन हालसम्म सामान्य रूपमा जारी रहेको छ ।
यूकेएमटीओले क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै इरानले हुथी समूहलाई पश्चिम एसियामा तनाव थप बढेमा लाल सागरको तेल मार्ग बन्द गर्न तयार रहन निर्देशन दिएको जानकारी पनि दिएको छ ।






















