यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त


काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का सदस्य राष्ट्रहरूले अभियोजक करिम खानलाई पदबाट बर्खास्त गर्ने पक्षमा मतदान गरेका छन् । स्रोतहरूलाई उद्धृत गर्दै अल्जाजिराले जनाए अनुसार विभिन्न समाचार एजेन्सीहरूले सम्प्रेषण गरेका विवरण अनुसार, आईसीसीका कुल १२५ सदस्य राष्ट्रहरूमध्ये बहुमतले खानलाई पदबाट हटाउने पक्षमा मतदान गरेका हुन् । उनीमाथि यौन दुराचारको आरोप लागेको झन्डै दुई वर्षपछि सदस्य राष्ट्रहरूले यस्तो कदम चालेका हुन् ।
यो निर्णय आईसीसीमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको समयमा आएको हो । अभियोजक खानकै नेतृत्वमा गाजा युद्धलाई लिएर इजरायलका शीर्ष अधिकारीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो भने अफगानिस्तानमा अमेरिकी सैन्य अधिकारीहरूबारे पनि अनुसन्धान अघि बढाइएको थियो । यसको बदलास्वरूप ट्रम्प प्रशासनले यसअघि नै खान र अन्य दर्जनौँ आईसीसी कर्मचारीहरूमाथि प्रतिबन्ध लगाइसकेको छ भने हालै मात्र आईसीसीलाई ध्वस्त पार्ने घोषणासमेत गरेको थियो ।






















