एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता


काठमाडौं, साउन ८ । नेपाली बुद्धिचालका प्रतिभावान खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन्। एशियाका बलिया युवा खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा सिलवालको यो नतिजा नेपाली बुद्धिचाल इतिहासकै उल्लेखनीय उपलब्धि रहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।
चाइनिज चेस संघको आयोजनामा जुलाई २४ सम्पन्न स्पर्धा ३ मिनेट २ सेकेन्ड ब्लिट्ज ९ चरण स्विस प्रणाली अनुसार प्रतिस्पर्धामा एशियाली ३२ राष्ट्रको सहभागी रहेको थियो। नेपालका २०५३ रेटेड सिलवाल २२औँ वरीयता लिदै सहभागी भएका थिए। सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै ६.५ अंक जोडेर चौथो स्थान कब्जा गरे। उनले २३४५ रेटिङ औसतको खेल प्रदर्शन गरि ब्यक्तिगत १३६.८ रेटिङ थप गरेका छन् ।
प्रतिस्पर्धामा सिलवालले पहिलो तिन खेलमा क्रमशः १७४१ रेटेड चीनका चेन सिन्सुओ, रुसका २३४९ रेटेड एफएम ईफिमोफ लियोनिद, भियतनामका २१७१ रेटेड एफएम डाङ आन मिन्हलाई पराजित गरे। चौथो खेलमा काजाखस्तानका २१५५ रेटेडल एफएम बोलात इनायतसँग पराजित हुदा पाचौंमा भियतनामका २२५३ रेटेड आईएम बान्ह जिया हुईलाई हाराए।

छैटौंमा भियतनामी २३५१ रेटेड आईएम फाम ट्रान गियासँग बराबरी गरे भने पुन: सातौंमा हङकङका २१३९ रेटेड सीएम काओ जामिसन एड्रिच र आठौंमा चाइनाका २३६७ रेटेड चेए जियाचेनलाई पराजित गरे। उपाधिवाट चुकेका सिलवाल अन्तिम चरणमा भियतनामका एफएम डुओङ भु आनसँग पराजित हुन पुगे। स्वर्ण पदक जित्ने सम्भावना बलियो रहेको अन्तिम खेलमा सिलवाललाई भियतनामका एफएम डुओङ भु आनले हराएर ७.५ अंकका साथ उपाधि जिते।
फिलिपिन्सका आईएम आर्का क्रिस्टियन जियान कार्लो ७ अंकसहित दोस्रो तथा भारतका एफएम माधवेन्द्र प्रताप शर्मा पनि ७ अंकसहित टाइब्रेकका आधारमा तेस्रो भए। हारका बाबजुद सिएम पुरुषोत्तम ६.५ अंक टाइब्रेकका आधारमा चौथो स्थान प्राप्त गरे । उनी सँगै अन्य चार जनाले समान अंक जोड्दै सातौं स्थानमा रहे। एशियाका उत्कृष्ट युवा खेलाडी माझ नेपालको प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गर्दै सिलवालले भविष्यमा अझ उच्च सफलता हासिल गर्न सक्ने संकेत दिइरहेको प्रवक्ता राजु ताम्राकारले बताए ।
हालका वर्षहरूमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्पर्धामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेको र आगामी ओलम्पियाडमा यसको प्रत्यक्ष प्रभावले पदकको आशा गरिएको ताम्राकारले जनाए।






















