बाजुरा । बाजुराको प्रसिद्ध पर्यटकीय क्षेत्र बडीमालिकामा साउन महिनाभित्रै टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा आउने भएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँगको शुक्रबारको छलफलमा नेपाल टेलिकमका अधिकारीहरूले यस महिना सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समुद्री सतहबाट ४,२०० मिटर उचाइमा रहेको सो क्षेत्रमा सडक पहुँच नभएकाले टेलिफोन टावरका उपकरणहरू नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्ने तयारी गरिएको छ । टेलिकमले टावर निर्माणका लागि आवश्यक सामानहरू कैलालीको धनगढीसम्म पुगिसकेको जानकारी दिएको छ । हेलिकप्टरको प्रबन्ध हुनासाथ ती सामान बडीमालिका पुर्याएर काम सुरु गरिने उसको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले बडीमालिकासँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको बताए ।




















