प्रबास

इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद

एजेन्सी
२०८३ साउन ८ | मध्यान्ह ०१:०४ बजे

वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको इरान युद्धमा मारिएका सैनिकहरूको आधिकारिक सूचीलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । द न्यु योर्क टाइम्सका अनुसार बुधबारसम्म उक्त सूचीमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो । तर बिहीबार सो सङ्ख्या घटाएर १४ बनाइएको छ ।

पेन्टागनको डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम वेबसाइटमा अहिले पनि अपरेसन एपिक फ्युरीअन्तर्गत इरान युद्धमा १४ जना अमेरिकी सैनिक मात्र मारिएको देखाइएको छ । तर गत साता मारिएका चार सैनिकको शव अमेरिकामा ल्याइएको जानकारी भने पेन्टागनले छुट्टै विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

न्यु योर्क टाइम्सका अनुसार सूचीबाट हटाइएका चार सैनिकमध्ये तीन जनाको मृत्यु गत शुक्रबार, शनिबार र आइतबार जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणमा भएको थियो । चौथो सैनिकको मृत्यु इराकको एर्बिल हवाई अड्डामा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा भएको थियो ।

तीन अमेरिकी सैन्य अधिकारीहरूले न्यु योर्क टाइम्सलाई बताएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा युद्धविराम घोषणा गरिसकेपछि मृत्यु भएका सैनिकलाई इरान युद्धको आधिकारिक सूचीबाट हटाउने निर्णय गरिएको थियो । तर पेन्टागनका प्रवक्ताले भने सैनिकको सङ्ख्या घट्नु अस्थायी तथ्याङ्क सम्बन्धी समस्याका कारण भएको दाबी गर्दै त्यसलाई चाँडै सच्याइने बताएका छन्

यो विवाद ट्रम्पले गत बुधबार डेलावेयरस्थित डोभर वायुसेना अड्डामा ती चार सैनिकको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरेको भोलिपल्ट सार्वजनिक भएको हो । ट्रम्पले इरान युद्धमा भएको अमेरिकी सैनिकको मृत्यु सङ्ख्या कोरिया, भियतनाम, इराक र अफगानिस्तानजस्ता लामो युद्धको तुलनामा निकै कम रहेको दाबी गर्दै आएका छन् । बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै अघिल्ला युद्धहरूको मृतक सङ्ख्या तुलना गर्ने चार्ट सार्वजनिक गरेका थिए ।

सो पोस्टमा उनले ‘यी नै वास्तविक तथ्य हुन्, यही समाचार दिनुस्’ भन्ने सन्देशसमेत लेखेका थिए । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले डोभर जाँदै गर्दा ती सैनिकहरूलाई महान् अमेरिकी वीरको संज्ञा दिएका थिए । उनले इरानलाई आणविक हतियार बनाउन नदिन युद्ध आवश्यक रहेको र मारिएका सैनिकहरू पनि यही विश्वास राख्ने गरेको दाबी गरेका छन् । यद्यपि अमेरिकी गुप्तचर निकायले इरानले सन् २००३ मै आफ्नो आणविक हतियार कार्यक्रम रोकिसकेको मूल्याङ्कन गर्दै आएको छ ।

ट्रम्पले इरान युद्ध चार महिना मात्र भएको र १८ सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा दुई लाख अमेरिकी सैनिक मारिएको दाबी गरेका थिए । तर ऐतिहासिक तथ्यअनुसार भियतनाम युद्धमा ५८ हजार २२० अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

यसैबिच रिपब्लिकन सांसद थोमस मासीले पेन्टागनले युद्धविरामपछि मारिएका सैनिकलाई छुट्टै युद्धको घटनाजस्तो देखाउन खोजेको आरोप लगाएका छन् । उनका अनुसार ट्रम्प प्रशासनले इरान युद्धलाई दुई भागमा विभाजन गरेर तथ्याङ्क प्रस्तुत गर्न खोजेको छ । उनले कांग्रेसको स्वीकृतिबिना ९० दिनभन्दा बढी समय युद्ध सञ्चालन गर्नु कानुन विपरीत भएको आरोप समेत लगाएका छन् ।

कमेन्टहरु