कोशी प्रदेश, तस्कर

सशस्त्र प्रहरीद्वारा करीव ३० करोड भन्दा बढीको सामान बरामद

नवलपुर टुडे
२०८३ साउन ७ | बिहान १०:०४ बजे

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२÷०८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको छ । सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा खाद्यान्य लगायतका विभिन्न प्रकारको सामान बरामद गरेको हो ।

सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरुले उक्त सामान बरामद गर्नुकासाथै पेस्तोल २ वटा तथा सोको १ वटा म्याग्जिन, ४ राउण्ड गोली र २ वटा भरुवा बन्दुकसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

यसैगरी सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरुले ठूलो परिमाणमा लागूऔषधसहित १ सय ८१ जना पुरुष र १२ जना महिला गरी १ सय ९३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको थियो । बरामद गरिएका लागूऔषधहरुमा करीव १ किलो १ सय २३ ग्राम ब्राउन सुगर, १० हजार ७ सय ७३ किलोग्राम गाँजा तथा स्पास्मो प्रोक्सिन, ट्रामाडोल, नाईट्राभेट, डाईलक्स डिसी, लुपिजेसिक, फेनारगन, नाईट्रोजन, एभिल, डाईजेपाम लगायतका छन् ।

यसैगरी मानव बेचविखन कार्यमा संलग्न १ जना महिला र १८ जना पुरुषलाई नियन्त्रणम लिई सम्बन्धित निकायमा बझाउनुकोसाथै २३ महिला, २ पुरुष र १३ बालबालिकाको उद्वार गरी सम्बन्धित निकायमा बुझाईएको छ । त्यस्तै सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुलाई जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुकासाथै गत आर्थिक वर्षमा विभिन्न समूह, क्लव, तथा शैक्षिक संस्थाहरुमा लागूऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत संचालन गरेको हो ।

त्यसैगरी नदिजन्य उत्खनन् नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीले १ सय ४ वटा ट्याक्टर, ३ वटा टिपर र ५ वटा जेसीबीलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ । सोही आर्थिक वर्षमा वन्यजन्तु तथा वनपैदावार चारीपैठारी नियन्त्रणको क्रममा गैँडाको खाग १ , हरिणको सिङ १ , २ हजार ३ सय ३३ क्यूफिट विभिन्न जातको काठ बरामद गर्नुकासाथै उक्त कार्यमा संलग्न २ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो ।

त्यस्तै सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरुले कोशी प्रदेशका विभिन्न स्थानमा ६ हजार ८ सय ४६ वटा फलफुल तथा विभिन्न प्रजातिका बोटविरुवाहरु बृक्षारोपण समेत गरेको छ ।

कमेन्टहरु