कर्णाली प्रदेश, समाज

हुम्लामा पुस्ताौंदेखि परम्परागत प्रविधि ओखलबाटै धान कुट्ने चलन कायमै

नवलपुर टुडे
२०८३ साउन ७ | बिहान ०९:०४ बजे

राजन रावत

हुम्ला । हुम्ला जिल्लाभर परम्परागत सीप ओखलबाट धान कुट्ने चलन अझै पनि कायम छ। आधुनिक मिलहरू स्थापना हुन नसकेका कारण स्थानीयहरूले पुस्ताौंदेखि चल्दै आएको ओखलबाट धान कुटेर चामल तयार पार्दै आएका छन्।

जिल्लाका अधिकांश धान पाक्ने बस्तीहरूमा ओखलमा धान कुट्ने पुरानै चलन रहेको छ। सर्केगाड गाउँपालिका–१, तुम्च गाउँकी पानसरा मल्लका अनुसार ओखलमा धान कुट्ने चलन कायमै छ र हालसम्म आधुनिक प्रविधि भित्रिन सकेको छैन।

उनको बस्तीमा तीन सयभन्दा बढी घरधुरी रहेका छन्। ती सबै घरधुरीमा उत्पादन हुने धान ओखलमै कुट्ने गरिएको उनले बताइन्। तुम्च गाउँका एक घरधुरीमा वार्षिक चारदेखि पाँच क्विन्टलसम्म धान उत्पादन हुने गर्छ।

त्यसैगरी चङ्खेली गाउँपालिका–२, गर्खा गाउँकी सुन्दरी शाहीले आफू सत्र वर्षको उमेरदेखि नै ओखलमा धान कुट्दै आएको र यो क्रम अझै जारी रहेको बताइन्।

हरेक घरधुरीले यसरी नै धान कुट्ने भएकाले ओखलहरू कहिल्यै खाली नहुने उनको भनाइ छ। ओखलमा धान कुट्दा धेरै समय लाग्ने र शरीरलाई पनि बढी भार पर्ने गर्छ।

एक घरधुरीले एक पटकमा १० केजीसम्म धान कुट्ने गर्छन्, जसका लागि करिब डेढ घण्टा लाग्ने गर्छ। परम्परागत सीपको जगेर्ना हुनु एकातिर भए पनि आधुनिक प्रविधि नहुँदा विशेष गरी महिलाहरूलाई बढी बोझ परेको छ।

सर्केगाड गाउँपालिका–३, उनापानी गाउँकी राधिका फडेराले पनि करिब तीस वर्ष अघिदेखि ओखलमा धान कुट्दै आएको र सो कार्य अहिले पनि निरन्तर रहेको बताइन्। यो काम सुरुवातदेखि नै महिलाहरूले गर्दै आएका छन्।

विद्युत् आपूर्तिको सहजता नभएका कारण अधिकांश गाउँमा धान लगायतका अन्न कुट्ने मिलहरू स्थापना हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ।

किसानहरूबाट अन्न कुट्ने मेसिनको माग आए पनि विद्युत्‌को व्यवस्था नहुँदासम्म केही गर्न नसकिएको कार्यालयको भनाइ छ। सरकारी तथा व्यक्तिगत तवरबाट समेत हालसम्म यस्ता मिलहरू स्थापना हुन सकेका छैनन्।

जिल्लाका सातवटा गाउँपालिकामध्ये छ वटामा धान खेती हुने गर्छ। गत वर्ष ५२५ हेक्टर खेतमा धान लगाएर १,०२० मेट्रिक टन धान उत्पादन भएको थियो।

यस वर्ष जिल्लामा कुल खेतीयोग्य जमिन ५,०२० हेक्टर रहेकोमा मार्सी धान खेती ६१५ हेक्टरमा रोपाइँ गरिएको छ।

कमेन्टहरु