नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री


नयाँ दिल्ली । बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’मा वरिष्ठ अभिनेता अनुपम खेरले जटायुको पात्रलाई आफ्नो आवाज दिने भएका छन् ।
यससँगै लामो समयदेखि अमिताभ बच्चनले जटायुको आवाज दिने भन्ने चर्चाको अन्त्य भएको छ । दादासाहेब फाल्के अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक सामाजिक सञ्जालमार्फत अनुपम खेर जटायुको आवाजका रूपमा निश्चित भएको जानकारी सार्वजनिक गरिएको हो ।
‘रामायण’मा रणवीर कपूर भगवान रामको भूमिकामा देखिनेछन् भने साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्नेछिन् । कन्नड अभिनेता यश रावणको भूमिकामा रहनेछन् भने रवि दुवे लक्ष्मणको भूमिकामा देखिनेछन् ।
साथै सनी देओलले हनुमानको भूमिका निभाउनेछन् । मेकरहरूले यस फिल्मलाई दुई भागमा प्रदर्शन गर्ने भएका छन् । पहिलो भाग यस वर्षको तिहार (दिवाली)को अवसरमा प्रदर्शन हुनेछ भने दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज गर्ने योजना रहेको छ । चलचित्रको संगीत विश्वप्रसिद्ध संगीतकार हान्स जिमर र एआर रहमानले तयार गरेका छन् ।






















