कर्णाली प्रदेश, सूचना / प्रबिधि

मुगुमा डिजिटल सूचनाको नयाँ सुरुवात : छायाँनाथ रारा नगरपालिका–१ सूचना प्रवाहमा पहिलो

तपेन्द्र एडी
२०८३ साउन ५ | बिहान १०:०४ बजे

मुगु । छायाँनाथ रारा नगरपालिका–१ ले नयाँ आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुने गरी डिजिटल सूचना बोर्ड सञ्चालनमा ल्याएको छ। नगरपालिकाका १४ वडामध्ये पहिलो पटक वडा नं. १ ले यस्तो प्रविधिमैत्री सेवा सुरु गरेपछि स्थानीयवासीले समयमै सूचना प्राप्त गर्ने अपेक्षा गरेका छन्।

वडा अध्यक्ष पदमबहादुर मल्लका अनुसार अबदेखि वडाबाट जारी हुने सूचना, सूचना–पत्र, सार्वजनिक सूचना, कार्यक्रम, योजना, बैठकसम्बन्धी जानकारी तथा अन्य आवश्यक नोटिसहरू डिजिटल बोर्डमार्फत नियमित रूपमा सार्वजनिक गरिनेछ। यसले वडावासीलाई सूचना प्राप्त गर्न सहज, छिटो र पारदर्शी वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

विगतमा सूचना समयमै नपुग्ने, सूचना खोज्न वडा कार्यालय धाउनुपर्ने तथा कतिपय सूचना छुट्ने समस्या स्थानीयले भोग्दै आएका थिए। डिजिटल सूचना बोर्ड सञ्चालनमा आएपछि यस्ता समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।प्रविधिको प्रयोगमार्फत स्थानीय सरकारलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो पहल मुगुवासीका लागि सकारात्मक र खुसीको खबरका रूपमा हेरिएको छ।

वडा अध्यक्ष मल्लले आगामी दिनमा पनि वडाको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र आधुनिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै हरेक सूचना अब डिजिटल बोर्डमार्फत सार्वजनिक गरिने बताएका छन्।हाल नगरपालिकाका १४ वडामध्ये वडा नं. १ ले मात्रै यो सेवा सुरु गरेको छ। अन्य वडाहरूमा यस्तो प्रणाली कहिलेदेखि लागू हुन्छ भन्ने विषयमा भने हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन।

स्थानीय तहमा सूचना प्रवाहलाई प्रविधिसँग जोड्ने यो कदमले सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कमेन्टहरु