दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
जिप दुर्घटना परी घाइते दुई जनाको मृत्यु


बाजुरा, साउन ४ । बाजुराको हिमाली गाउँपालिका–५ क्युडी स्थित क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा उद्धारमा ढिलाइ भएपछि दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको घुमाउरो उकालोबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप हिमाली गाउँपालिका–२ नातीखोला निवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।
दुर्घटनामा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय अम्मर सिंह बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्वर बोहराका अनुसार दुर्घटनाको जानकारी करिब दिउँसो १२ बजे प्राप्त भएपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको थियो। तर दुर्गम भूगोल, कच्ची सडक र यातायातको कठिनाइका कारण एम्बुलेन्स घटनास्थल पुग्न करिब तीन घण्टा लागेको थियो।
घाइतेहरूलाई उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्याउँदासम्म साँझ करिब ७:३० बजिसकेको थियो। दुर्घटनादेखि अस्पताल पुग्न झन्डै आठ घण्टा लागेकाले समयमै उपचार नपाउँदा दुई जनाको ज्यान गएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार नजिकै स्वास्थ्य संस्था र सहज सडक पहुँच भएको भए मृतकहरूको ज्यान जोगिन सक्ने अवस्था थियो।
प्रहरीका अनुसार दुर्घटनामा चालक जनवीर बुढाको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम छ। हिमाली गाउँपालिका–२ की ३१ वर्षीया मिजरा बुढाको टाउकोमा चोट लागेको छ। हुम्लाको ताजाकोट गाउँपालिका–५ की २० वर्षीया अस्मिता थापाको कम्मरमा, २८ वर्षीय जंग सिंह बुढाको हातमा, २० वर्षीय गोरख रोकायाको हात र टाउकोमा, २७ वर्षीय लोकेन्द्र बुढाको हातमा तथा अन्दाजी ९ वर्षीया सुस्मा बुढाको आँखामा चोट लागेको छ।
उनीहरूको अवस्था सामान्य रहेको र कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले उकालो चढ्ने क्रममा एक्कासि ब्रेकले काम नगरेपछि जिप नियन्त्रणबाहिर गई सडकबाट तल खसेको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।






















