चितवन, साउन ३ । चितवनमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका–६ निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा श्रेष्ठबाट बरामद गरिएको Redmi कम्पनीको मोबाइल फोनमा रहेको Mobcash एपमार्फत रकम लोड तथा अनलोड हुने गरेको फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त खातामा करिब रु. २७ लाखभन्दा बढीको कारोबार सीमा (EPOS Limit) तथा रु. १३ लाखभन्दा बढी मौज्दात रकम रहेको जनाएको छ। साथै पछिल्लो तीन महिनामा उक्त खातामार्फत ठूलो परिमाणमा कारोबार भएको देखिएको छ। त्यसैगरी श्रेष्ठबाट बरामद गरिएको अर्को Apple कम्पनीको मोबाइल फोनमा रहेको Binance एपमार्फत अमेरिकी डलर ३३ हजार १५०.३३ बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको फेला परेको प्रहरीले जनाएको छ।
उक्त रकमको हालको मूल्य नेपाली रुपैयाँमा करिब ५० लाखभन्दा बढी रहेको बताइएको छ। नारायण श्रेष्ठविरुद्ध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र भुषण यादवले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्।

एक पक्राउ,खातामा भेटियो लाखौको कारोबार
























