भरतपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक मृत्यु

नवलपुर टुडे
२०८३ साउन २ | मध्यान्ह ०८:०४ बजे

चितवन । चितवनको भरतपुरमा शनिबार बलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० स्थित छ लेन सडकमा भएको सो दुर्घटनामा स्कुटर चालक भरतपुर–१२ बस्ने ४० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब २ः५५ बजे लु.प्र.०१-००१ च ३४८९ नम्बरको बलेरोले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि भरतपुरस्थित पुष्पाञ्जली अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बलेरो गाडी र त्यसका चालक कपिलवस्तुको विजयनगर गाउँपालिका–२ बस्ने २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक र गाडीमाथि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।


















