कतारमा नेपाली समुदायद्वारा स्वर्गीय फादर अमिरप्रति श्रद्धाञ्जली अर्पण


कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारले स्वर्गीय फादर अमिर शेख हमद बिन खलिफा अल थानीप्रति सामुहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन। विहिबार साझ मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संघका अध्यक्ष कृष्ण पन्थीको सभापतित्वमा तथा नेपाली राजदूतावास, कतारका श्रम सहचारी प्रेम पोखरेल प्रमुख आतिथ्यतामा तथा कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा अल थानी प्रती सामूहिक रूपमा श्रद्धाञ्जली अर्पण गरेका हुन।
कार्यक्रमना मौलाना गुलाम नबी रवजीद्वारा पवित्र कुरआन शरीफको तिलावत तथा स्वर्गीय फादर अमिरको सम्मानमा एक मिनेट मौन धारणपछि सुरु भएको थियो । कार्यक्रममा एनआरएनए एनसिसी कतारका सल्लाहकार प्रो. रमजान अलि मियाँले स्वर्गीय फादर अमिरको व्यक्तित्व, दूरदर्शी नेतृत्व तथा आधुनिक कतार निर्माणमा उनले पुर्याएको ऐतिहासिक योगदानबारे विस्तृत रूपमा प्रकाश पारे। उनले शेख हमदको नेतृत्व काललाई कतारको तीव्र आर्थिक विकास, संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारको स्वर्णिम चरणका रूपमा व्याख्या गरे ।
श्रद्धाञ्जली सभामा वक्ताहरूले स्वर्गीय फादर अमिरको दूरदर्शी नेतृत्वकै कारण कतार आज समृद्ध, विकसित तथा विश्व मञ्चमा सम्मानित राष्ट्रका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपाली श्रमिक तथा नेपाली समुदायप्रति उनले देखाएको सद्भाव, रोजगारीका अवसर विस्तार तथा नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे । कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि तथा नेपाली राजदूतावास, कतारका श्रम सहचारी पोखरेलले कतारमा रहेका नेपालीहरू सुख र हर्षका क्षणमा मात्र नभई दुःख र शोकका घडीमा पनि कतार सरकार, शाही परिवार तथा कतारी जनतासँग एकजुट भएर उभिने सन्देश यस श्रद्धाञ्जली सभाले दिएको बताए ।
उनले सहभागी सम्पूर्णप्रति नेपाली दूतावासका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्दै स्वर्गीय फादर अमिर आधुनिक कतारका निर्माता भएको उल्लेख गरे । साथै, कतारस्थित नेपाली समुदायका तर्फबाट उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । एनसिसी कतारका महासचिव शिव भुजेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पन्थीले सम्पूर्ण कतारस्थित नेपाली समुदायका तर्फबाट स्वर्गीय फादर अमिर प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त शाही परिवार, कतार सरकार तथा कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गरे ।
उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा विश्वसँगको सम्पर्क विस्तारमार्फत आधुनिक कतार निर्माणमा फादर अमिरले पुर्याएको ऐतिहासिक योगदानको प्रशंसा गर्दै नेपाल–कतार सम्बन्धलाई सधैं आत्मीय, विश्वासपूर्ण र सुदृढ बनाउन उहाँको भूमिका अविस्मरणीय रहेको बताए । साथै, उनले स्वर्गीय फादर अमिरको आत्माको चिर शान्तिको कामना गरेका थिए ।






















