साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर


सोल । दक्षिण कोरियाको केन्द्रीय बैंक ‘बैंक अफ कोरिया’ (बीओके)ले साढे तीन वर्षपछि पहिलोपटक आफ्नो प्रमुख नीतिगत ब्याजदर बढाएको छ । तीव्र आर्थिक वृद्धि र बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने उद्देश्यले बैंकले बिहीबार शूनय दशमलव २५ प्रतिशत बिन्दुले ब्याजदर बढाएर २ दशमलव ७५ प्रतिशत पुयाएको हो ।
बैंकले जारी गरेको विज्ञप्तिमा यस वर्षको आर्थिक वृद्धि दर मे महिनामा गरिएको २ दशमलव ६ प्रतिशतको अनुमानभन्दा उल्लेखनीय रूपमा माथि रहने जनाएको छ। साथै, मुद्रास्फीति पनि अझ केही समय उच्च रहने प्रक्षेपण गरिएको छ ।
केन्द्रीय बैंकका गभर्नर शिन ह्युन सोङले आर्थिक वृद्धि, मुद्रास्फीति र वित्तीय स्थायित्व—तीनै पक्षले ब्याजदर वृद्धि आवश्यक भएको संकेत गरेकाले यो निर्णय गरिएको बताए ।
उनका अनुसार विश्वव्यापी सेमिकन्डक्टर (चिप) उद्योगको तीव्र विस्तारले दक्षिण कोरियाको निर्यात र लगानी बढाएको छ । यसको प्रभाव घरेलु मागमा पनि देखिन थालेकाले माग–आधारित मुद्रास्फीति बढ्ने सम्भावना रहेको उनले उल्लेख गरे ।
दक्षिण कोरियाको अर्थतन्त्रले यस वर्ष अपेक्षाभन्दा तीव्र सुधार देखाएको छ । पहिलो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो, जुन करिब छ वर्षयताकै सबैभन्दा तीव्र वृद्धि हो ।
यसपछि सरकारले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको अनुमान ३ प्रतिशत पु¥याएको छ, जुन पछिल्ला पाँच वर्षकै उच्च प्रक्षेपण हो । बजार विश्लेषकहरूले बैंक अफ कोरियाले यसै वर्षको अन्त्यअघि कम्तीमा एकपटक थप ब्याजदर बढाएर ३ प्रतिशत पु¥याउने अपेक्षा गरेका छन् ।
दक्षिण कोरियाको यो निर्णय जापान, अष्ट्रेलिया, न्यूजिल्यान्ड, इन्डोनेसिया र फिलिपिन्सलगायत एशियाली देशहरूको मौद्रिक नीतिसँग मेल खाने कदमका रूपमा हेरिएको छ । मुद्रास्फीति नियन्त्रणका लागि यी देशहरूले पनि पछिल्ला महिनाहरूमा ब्याजदर वृद्धि गरिसकेका छन् ।






















