भान्टाबारीमा मानव बेचबिखन तथा लागूऔषध नियन्त्रणका लागि ‘हेल्प डेस्क’ स्थापना

सुनसरी। नव अभियान नेपाल (NAWA ABHIYAN NEPAL) को आयोजनामा कोशी गाउँपालिका–८, भान्टाबारीस्थित नेपाल–भारत सीमा नाकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, सुरक्षित वैदेशिक रोजगारी र लागूऔषध नियन्त्रणका लागि ‘हेल्प डेस्क’ स्थापना गरिएको छ। हेल्प डेस्क स्थापनासँगै जनचेतनामूलक कार्यक्रम पनि सम्पन्न गरिएको हो।
कार्यक्रमको संयोजन नव अभियान नेपालका जिल्ला संयोजक समिर न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिका–८ का वडा अध्यक्ष बलराम कुमार क्षेत्री रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय भान्टाबारीका प्रहरी नायब निरीक्षक सुरेश यादव सहभागी हुनुभएको थियो।
कार्यक्रममा कोशी गाउँपालिकाका कार्यपालिका सदस्य सर्जुक सरदार, नव अभियान नेपालकी कर्मचारी प्रमुख सुधा कुमारी देव, संस्थाकी प्रतिनिधि आसमा खातुन, स्थानीय सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नेपाल–भारत खुला सीमा क्षेत्र भएकाले मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहने भन्दै सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिएका थिए। सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारी प्रक्रिया पूरा गरी वैधानिक श्रम स्वीकृति लिएर मात्र विदेश जान तथा कुनै पनि प्रलोभनमा नपर्न आग्रह गरिएको थियो।
त्यसैगरी, लागूऔषध दुव्र्यसन र अवैध कारोबारले समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराउँदै विशेषगरी युवा पुस्तालाई यसबाट टाढा रहन र शंकास्पद गतिविधिको जानकारी तत्काल सुरक्षा निकाय वा हेल्प डेस्कमा दिन अनुरोध गरिएको थियो।
आयोजकका अनुसार सीमा क्षेत्रमा स्थापना गरिएको हेल्प डेस्कले मानव बेचबिखन, ओसारपसार, सुरक्षित वैदेशिक रोजगारी तथा लागूऔषध नियन्त्रणसम्बन्धी सूचना, परामर्श र आवश्यक सहजीकरण प्रदान गर्नेछ। कार्यक्रमका सहभागीहरूले स्थानीय तह, नेपाल प्रहरी, सामाजिक संस्था, सञ्चारकर्मी र समुदायबीचको समन्वय तथा सहकार्यबाट यस्ता अपराध न्यूनीकरणमा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।






















