विवेक मण्डलको परिवारलाई विशेष राहत प्याकेज उपलब्ध गराउन प्रदेश सरकारसँग माग


जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्वमन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंह ले देशमा पछिल्लो समय बढ्दै गइरहेका आत्मदाहका घटनाले राज्यप्रति नागरिकको घट्दो विश्वास, बढ्दो निराशा र सरकारको संवेदनहीनता उजागर गरेको बताएका छन्।
मंगलबार मधेश प्रदेश सभाको विशेष समयमा धारणा राख्दै सांसद सिंहले राज्यले नागरिकप्रतिको दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा आम नागरिक, विशेषगरी युवापुस्ता, गहिरो निराशामा पुगेको बताए। उनले देशमा बेरोजगारी, आर्थिक संकट र भविष्यप्रतिको अन्योलका कारण युवाहरू आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य भइरहेको भन्दै यस अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। “देशका युवाहरू राष्ट्रका कर्णधार हुन्। तर आज उनीहरू आफ्नै भविष्यप्रति निराश भएर आत्मदाहजस्तो पीडादायी निर्णय लिन बाध्य भइरहेका छन्।
यो कुनै व्यक्तिगत समस्या मात्र होइन, राज्यको नीति, जिम्मेवारी र संवेदनशीलताको पनि परीक्षा हो,” सिंहले भने। उनले पछिल्लो एक साताभित्र आत्मदाहको प्रयास गरेका तीन जना युवाको उपचारका क्रममा निधन भएको घटनालाई अत्यन्त दुःखद र चिन्ताजनक भन्दै दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
यसै सन्दर्भमा सिंहले सर्लाहीको गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डल ले आत्मदाहको प्रयासपछि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल मा उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै मधेश प्रदेश सरकारसँग पीडित परिवारलाई विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरे। उनले आत्महत्या तथा आत्मदाहजस्ता हृदयविदारक घटनाको मूल कारण पहिचान गरी युवालाई रोजगारी, आत्मविश्वास र सुरक्षित भविष्य सुनिश्चित गर्ने ठोस नीति तथा कार्यक्रम तत्काल लागू गर्न सरकारसँग आग्रह गरे।
साथै, यस्ता घटनालाई सामान्य रूपमा नलिई युवाको मनोबल बढाउने, रोजगारी सिर्जना गर्ने र नागरिकमा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव तथा नेता सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार, सांसद सिंहले प्रदेश सभाको विशेष समयमा उक्त धारणा व्यक्त गरेका हुन्।






















