.’शोकको घडीमा लासमाथि राजनीति नगरौं’ मेयर प्रत्यासी विजय यादव


असार ३० गते । फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी तथा युवा नेता विजय यादवले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
श्रद्धाञ्जली सन्देश जारी गर्दै यादवले शोकको यस्तो संवेदनशील घडीमा मृतकको सम्मान गर्नुपर्ने र घटनालाई राजनीतिक विवादको विषय नबनाउन सबै पक्षसँग सामाजिक सञ्जाल फेसबुकमा आग्रह गरेका छन्।
उनले उपचारका क्रममा गृहमन्त्री सुदन गुरुङ स्वयं अस्पतालमा पुगेर पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको, उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई सक्रिय बनाएको तथा आवश्यक परे थप उपचारका लागि दिल्ली लैजाने तयारीसमेत गरिएको उल्लेख गरेका छन्।
यति हुँदाहुँदै पनि गणेश नेपालीलाई बचाउन नसकिएको घटना अत्यन्त दुःखद भएको उनले बताएका छन्। यादवले भनेका छन्, “कुनै पनि नागरिकको दुःखद निधनलाई राजनीतिक लाभ हानिको विषय बनाउनु उचित होइन। अहिले आवश्यक कुरा आरोप प्रत्यारोप होइन, शोकाकुल परिवारप्रति सहानुभूति, संवेदना र साथ हो।” उनले सम्पूर्ण नेपालीलाई संयमित रहँदै मृतकप्रति सम्मान व्यक्त गर्न, परिवारको दुःखमा साथ दिन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।






















