कोच राजवंशी प्रवासी समाज यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएईको सक्रिय सदस्यमा आबद्ध


दुबई, यूएई |
यूएईमा क्रियाशील कोच राजवंशी प्रवासी समाज यूएई नेपाल आदिवासी जनजाति महासंघ यूएई (NEFIN UAE) को सक्रिय सदस्य संस्थाका रूपमा औपचारिक रूपमा आबद्ध भएको छ।
बर दुबईस्थित नाङ्लो रेस्टुरेन्टको सभाहलमा आइतबार, १२ जुलाई २०२६ मा सम्पन्न महासंघको पाँचौँ बैठकले कोच राजवंशी प्रवासी समाज यूएईलाई सक्रिय सदस्यका रूपमा आबद्ध गर्ने निर्णय गरेको हो।

नेपालका आदिवासी जनजातिमध्ये सूचीकृत राजवंशी जाति हाल लोपोन्मुख समुदायको सूचीमा रहेको छ। समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, रहनसहन तथा जातीय पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०५० सालमा राजवंशी समाज विकास समिति स्थापना गरिएको थियो। नेपालसहित विश्वभर रहेका राजवंशी समुदायले आफ्नो मौलिक पहिचान र अस्तित्व जोगाउन विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएका छन्।
प्रवासमा पनि यही उद्देश्यलाई आत्मसात् गर्दै करिब तीन वर्षअघि यूएईमा कोच राजवंशी प्रवासी समाज यूएई स्थापना भएको थियो। स्थापना भएदेखि नै संस्थाले समुदायको एकता, भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

महासंघका अनुसार संस्थाले महासंघमा आबद्धताका लागि चौथो बैठकमै औपचारिक निवेदन दर्ता गरेको थियो। त्यसपछि महासंघले सार्वजनिक सूचना जारी गर्दै यूएईमा राजवंशी समुदायको प्रतिनिधित्व गर्ने अन्य कुनै संस्था भए २१ कार्यदिनभित्र दाबी वा विरोध पेश गर्न आह्वान गरेको थियो। तोकिएको अवधिभित्र कुनै पनि संस्था वा पक्षबाट दाबी–विरोध प्राप्त नभएपछि आवश्यक प्रक्रिया पूरा गरी कोच राजवंशी प्रवासी समाज यूएईलाई राजवंशी समुदायको प्रतिनिधि संस्थाका रूपमा सक्रिय सदस्यता प्रदान गरिएको महासंघले जनाएको छ।
महासंघले राजवंशी समुदायको सहभागिताले संस्थाको समावेशी स्वरूप अझ सुदृढ भएको जनाएको छ। साथै महासंघमा आबद्ध विभिन्न आदिवासी जनजाति संस्थाका प्रतिनिधिहरूले कोच राजवंशी प्रवासी समाज यूएईको सदस्यतालाई स्वागत गर्दै यसले आदिवासी जनजातिबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

महासंघमा आबद्ध भएसँगै अब कोच राजवंशी प्रवासी समाज यूएईले यूएईस्थित आदिवासी जनजाति समुदायहरूको साझा मञ्चमार्फत राजवंशी समुदायको भाषा, संस्कृति, पहिचान, अधिकार तथा साझा सरोकारका विषयलाई अझ प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।






















