मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

हिमालीमा आँखा उपचार केन्द्र स्थापना, पहिलो दिनमै सयभन्दा बढी उपचार

उमेश रोकाया
२०८३ असार २९ | मध्यान्ह १०:०३ बजे

बाजुरा, २९ असार । हिमाली गाउँपालिकामा नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै पहिलो पटक नियमित आँखा उपचार सेवा सुरु भएको छ । हिमाली गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसन नेपालको साझेदारीमा धुलाचौर आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।

उक्त नवनिर्मित आँखा उपचार केन्द्रको आज एक भव्य औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ । अत्यन्तै दुर्गम र भौगोलिक रूपमा विकट स्थान भएका कारण यस क्षेत्रका नागरिकहरूले लामो समयदेखि यातायात र आधुनिक स्वास्थ्य सेवाको पहुँच नहुँदा सास्ती खेप्दै आएका थिए । समयमै सामान्य आँखा जाँच र उपचार समेत गराउन नपाउँदा यसअघि यहाँका कयौँ व्यक्तिहरूले अकालमै आफ्नो दृष्टि गुमाउनु परेको थियो भने कतिपय नागरिकहरू दृष्टिविहीन भई अपाङ्गताको सिकार हुनुपर्ने पीडादायी अवस्था थियो ।

अब धुलाचौरमा उपचार केन्द्र स्थापना भएसँगै यो बाध्यता र आँखाको अन्धोपनको जोखिम सधैँका लागि अन्त्य हुने विश्वास गरिएको छ । आफ्नै गाउँघरमा आँखाको उपचार पाउने भएपछि धुलाचौर आँखा उपचार केन्द्रको उद्घाटनकै दिन स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सेवा सुरु भएको पहिलो दिनमै १ सय ९० जनाभन्दा बढी सर्वसाधारणले आफ्नो आँखाको विस्तृत जाँच गराएका छन् भने जाँच गराएका बिरामीहरूलाई आवश्यक औषधि तथा चस्मा समेत निःशुल्क वितरण गरिएको थियो ।

केन्द्रको स्थापनासँगै अब स्थानीय नागरिकहरू सामान्य आँखा जाँचकै लागि महँगो खर्च गरेर टाढाका सहर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अबका दिनमा धुलाचौरबाटै नियमित रूपमा आँखा जाँच तथा उपचार सेवा प्रदान गरिनेछ । यसका साथै, जाँचका क्रममा जटिल समस्या देखिएका वा मोतियाबिन्दु भई अपरेसन (शल्यक्रिया) गर्नुपर्ने बिरामीहरूका लागि समेत निःशुल्क उपचार र अपरेसनको व्यवस्था मिलाइने पालिकाले जनाएको छ ।

भौगोलिक रूपमा विकट मानिने यस क्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै बाजुराका मात्र नभई छिमेकी जिल्लाहरू हुम्ला र मुगुका सर्वसाधारणले समेत प्रत्यक्ष रूपमा सेवा पाउने भएका छन् । तीनवटै जिल्लाका सिमाना जोडिएका गाउँका नागरिकहरूका लागि यो केन्द्र स्वास्थ्य पचारको एउटा ठूलो भरोसाको केन्द्र साबित हुनेछ ।

धुलाचौर आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रमको अध्यक्षता हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका सभापति रामलाल आचार्य उपस्थित हुनुभएको थियो । यस्तै, कार्यक्रमको व्यवस्थित सहजीकरण तथा सञ्चालन हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले गर्नुभएको थियो । विकट क्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।

कमेन्टहरु