Opens in a new tab

समाज सेवा जनसमुदायको कर्तव्य हुनुपर्नेमा जोड: लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण

नवलपुर टुडे

29Shares
dida bag ad

नवलपरासी, असार २७ गते । समाज सेवालाई केवल इच्छाधीन विषय मात्र नबनाई जनसमुदायको मुख्य कर्तव्यको रूपमा लिइनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। नवलपरासीको बर्दघाटमा आयोजित लायन्स क्लव अफ नवलपरासी दाउन्ने शाखाको पदहस्तान्तरण कार्यक्रमका अवसरमा सरोकारवालाहरूले उक्त विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा वर्ष २०२५/२०२६ को कार्यसमितिले आर्थिक वर्ष २०२६/२०२७ को नयाँ नेतृत्वका लागि आधिकारिक रूपमा पद हस्तान्तरण गरेको छ। वर्ष २०२५/२०२६ का अध्यक्ष सन्देश भण्डारीले वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद पौडेल सहितको नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिनुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अफ नवलपरासी दाउन्ने शाखाका संस्थापक अध्यक्ष धिरज शर्मा बस्यालले लायन्स क्लव समाजमा सामाजिक कार्य गर्ने एक प्रतिष्ठित र गरिमामय संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। उहाँले समाजमा यसको भूमिका अझ बढाउन र संस्थालाई थप बलियो बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

पदभार ग्रहण गरेसँगै वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद पौडेलले आफ्नो कार्यकाललाई सफल र परिणाममुखी बनाउनका लागि तयार पारिएको प्रस्तावित कार्ययोजना सार्वजनिक गर्नुभएको थियो।

सो अवसरमा जोन चियरपर्सन रमेश कुमार श्रेष्ठ, डिस्ट्रिक्ट एडभाइजर कमला बस्याल, र लियो क्लव अफ नवलपरासी दाउन्नेका पूर्व अध्यक्ष किरण बस्याल लगायतले आ-आफ्नो मन्तव्य राख्दै नयाँ कार्यसमितिको सुखद कार्यकालको कामना र शुभकामना व्यक्त गर्नुभएको थियो ।