हात्ती पीडित बोटे परिवारलाई राहत


चितवन । जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो ।
ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट समेत भएको थियो ।
यस्तै पीडित परिवारलाई भरतपुर महानगरपालिकाले रु चार लाख, खाद्यान्न र कपडा सहयोग गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।
नेपाल बोटे समाजबाट रु ६० हजार, नेपाली कांग्रेस चितवनद्वारा रु ३० हजार, जिल्ला प्रशासन कार्यालयबाट रु १५ हजार, केरुङ्गा मध्यवर्ती सामुदायिक वनबाट रु ५० हजार, जिल्ला समन्वय समिति चितवनबाट रु २३ हजार सहयोग गरिएको भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । उनका अनुसार पूर्वमन्त्री विक्रम पाण्डेबाट खाद्यान्न र लत्ताकपडा, नेपाल रेडक्रस सोसाईटी उपशाखा जगतपुरबाट त्रिपाल, कम्मल र भाँडा, बेलहट्टा हरियाली युवा क्लबले अस्थायी आश्रयस्थल प्रदान गरेको छ ।
अन्य विभिन्न व्यक्ति र सङ्घ संस्थाले पनि सानो सानो सहयोग गरिरहेको वडाध्यक्ष दवाडीले जानकारी दिए ।























