दाउरा चिर्न रूचाउने हालान्ड, जसले मच्चाइरहेछन् विश्वकपमा सनसनी


काठमाडौं । आफ्ना उमेर समूहका साथीहरू कार्टुनमा व्यस्त रहँदा एर्लिङ हालान्ड खेलकुदमा सामेल हुन्थे । सुन्दा अझै पनि अपत्यारिलो लाग्न सक्छ, पाँचवर्षको उमेरमा उनले विश्व रेकर्ड राखेका थिए ।
सन् २००६ मा उनले १.६३ मिटरको स्ट्याडिङ् जम्प गर्दै विश्व रेकर्ड राखे । २० वर्षसम्म पनि उनको रेकर्ड कसैले तोड्न सकेको छैन ।
६ महिनाको अन्तरालपछि एक दिन हालान्ड कक्षा कोठामा पुगेका थिए । १५ वर्षको उमेरमा उनको शारीरिक बनावटमा पृथक परिवर्तनका कारण शिक्षकले हालान्डलाई चिनेनन् । ”तिमी को हौ र यहाँ किन आयौ ?,” शिक्षकले प्रश्न गरेका थिए ।
हालान्डले जवाफ फर्काए- ”म एर्लिङ हालान्ड हुँ । अब म पढ्दिनँ भन्न आएँ ।”
”नपढ्ने भए के गर्छौ त ?,” शिक्षकको प्रश्न थियो ।
हालान्डले जवाफ दिएका थिए,”मैले पढाईमा राम्रो गर्न सकिनँ अब फुटबलमा राम्रो गर्छु ।”
शिक्षकसँगको संवादमा भनेझैँ हालान्डले फुटबलमा आफूलाई अब्बल प्रमाणित गरे ।
विश्वकपमा सात गोल गर्दै उनी गोल्डेन बुटको दौडमा छन् । आगामी यात्रामा अघि बढे २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेका लागि अर्को इतिहास बन्ने नै छ ।
कथम् यात्रा टुंगिएछ भने पनि पाँच पटकको विश्वविजेता ब्राजिलाई घर फर्काउँदै ब्राजिलसँग कुनै खेल नहारेको विरासत जोगाउँदै राष्ट्रलाई क्वाटरफाइनलसम्म पुर्याएको रेकर्ड पनि हालान्डकै नाममा हुनेछ ।
सानो उमेरसमूहका खेलदेखि विश्वकपमा मैदानसम्म कीर्तिमानी यात्रा हालान्डले तय गरेका छन् ।
फुटबल यात्रामा कसरी होमिए हालान्ड ?
हालान्डको जन्म सन् २००० मा बेलायतमा भएको हो । तीन वर्षको उमेरमा उनी नर्वे पुगे । बार्यनमा उनी कृषि समुदायमा हुर्किए । आफ्ना पिता अल्फ हालान्ड म्यानचेस्टर सिटीबाट खेल्ने भएकाले उनको पनि ध्यान विस्तारै फुटबलतर्फ आकर्षित हुँदै गयो ।
बुवाले उनलाई कुनै पनि दबाब भने दिएका थिएनन् । बालकका रूपमा उनले जे जसरी खेले, सबै मनोरञ्जनका निम्ति खेले । १५ वर्षको उमेरमा उनी बार्यनबाट १८ वर्ष मुनिका टोलीमा परे । सन् २०१७ मा उनलाई नर्वेको ठूलो क्लब मोल्डले अनुबन्ध गर्यो । सुरुआती चरणमा रिजर्भमा रहेका उनले उत्कृष्ट प्रदर्शन गर्न थाले ।
यही समयमा उनले राष्ट्रिय टोलीको ध्यान पनि आफूतर्फ खिचे । नर्वेका प्रशिक्षक रहेका लिफ स्मर्ड हालान्डबारे भन्छन्,”हामीले १४, १५ वर्षदेखि नर्वेमा खेलाडी छनोट गर्न थाल्छौँ । तर मैले उनमा त्यस अगावै क्षमता देखिसकेको थिएँ,” सीएनएनसँग उनले भभनेका छन् ।
उनीसँग फुटबलप्रति छुट्टै लगाव थियो । स्मर्डले भनेका छन्,”हालान्ड फुटबलप्रति लगाव राख्ने मात्रै खेलाडी थिएनन् । उनीसँग विशिष्ट खेल कौशल समेत थियो ।”
टीनएजमै उनको शारीरिक वृद्धि भयानक हुँदै गयो । शारीरिक बनावट अनुसार उनले आफूलाई निखार्दै लगे । आफ्नो विशाल शरीर र अद्भूत गतिको भरमा विपक्षी डिफेन्डरलाई अहिले जसरी हायलकायल पार्छन् साना उमेरसमूहको खेलमा पनि उनले त्यसै गरेको स्मरण गर्छन् स्मर्ड ।
एकै खेलमा नौ गोल, होन्डुरसका खेलाडीलाई धरधरी रूवाउने हालान्ड
हालान्डले विभिन्न उमेरसमूहबाट नर्वेको प्रतिनिधित्व गरेका थिए । उनले खास पहिचान बनाएको २० वर्षमुनिको टोलीबाट हो । सन् २०१९ मा उक्त उमेरसमूहको विश्कपमा हालान्डले होन्डुरसविरुद्ध नौ गोल हानेका थिए । उक्त खेलपछि होन्डुरसका कतिपय खेलाडी धरधरी रोए । त्यतिबैलै उनले भनेका थिए,”म हरबखत फुटबलबारे सोचिरहेको हुन्छु ।”
उनको उक्त प्रदर्शनपछि उनलाई तुरुन्तै राष्ट्रिय टोलीमा समावेश गरिएको प्रशिक्षक स्मर्डको स्मरण छ ।
उक्त प्रदर्शनपछि उनलाई अष्ट्रियन क्लब आरबी साल्जवर्गले अनुबन्ध गर्यो ।

२२ खेलमा उनले २८ गोल गरिदिए । च्याम्पियन लिगका ६ खेलमा उनले आठ गोल गरे । त्यसपछि उनलाई ठूला क्लबले आँखा लगाउन थाले । म्यानचेस्टर युनाइटेडको आँखामा हालान्ड परे पनि उनलाई भित्र्याउन जर्मन क्लब बोरोसिया डर्टमन्ड सफल भयो । सन् २०१९ मा उनलाई क्लब २० मिलियन डलरमा अनुबन्ध गर्यो । सन् २०२२ मा उनले म्यानचेस्टर सिटी रोजे ।
उनले म्यानचेस्टर सिटीका लागि मात्रै १६० गोल गरेका छन् । १९६ म्याचबाट उनले उक्त गोल गरेका हुन् । उनी च्याम्पियन्स लिग विजेता खेलाडी समेत हुन् । नर्वेका लागि खेलेका ५४ म्याचमा उनले ६२ गोल गरेका छन् ।
खेल कौशल र गोलसंख्याका कारणले मात्रै नभएर हालान्ड मैदानबाहिरका क्रियाकलापले पनि उत्तिकै चर्चामा छन् । उनी दैनिक ६ हजार क्यालोरी बराबरको खाना खान्छन् । फुटबलबाट फुर्सद निकालेर उनी जंगल घुम्दै दाउरा चिर्न रूचाउँछन् ।
जंगल चाहार्दै दाउरा चिर्न किन रूचाउँछन् हालान्ड ?
आफूलाई उत्कृष्ट लयमा राख्नका लागि गर्नुपर्ने मिहिनेत पट्यारलाग्दो हुने हालान्ड बताउँछन् । तर आफूलाई सुगठित राख्न उनी हार मान्दैनन् । ९० मिनेटको खेलमा मात्रै होइन त्यसभन्दा बाहिर पनि पुनर्ताजगीको जिम्मेवारी खेलाडीको रहने उनी बताउँछन् ।
”त्यत्रो दौडेर खेल खेलिसकेपछि मेरो शरीरलाई अन्य कुनै शारीरिक गतिविधि आवश्यक पर्ला त भन्ने मलाई पनि लाग्छ । तर मलाई थाहा छ त्यस्ता गतिविधि अत्यन्तै जरूरी छन् । त्यसैले म समय निकालेर साइकलमा बनमा जान्छु, काठ चिर्छु । स्वस्थकर खाना खान्छु । आफूलाई मानसिक र शारीरिक रूपमा हरदम तयार राख्छु,” हालान्ड भन्छन् ।
बन्चरो र आरो लिएर हालान्ड जंगलमा जानुका कारण फिटनेससँग सम्बन्धित छन् । यसले आफ्ना मांसपेसी तन्काउन मद्दत पुग्ने उनी बताउँछन् ।
यस्तै, शरीरमा ऊर्जाको सन्तुलन, स्थिरता र सक्रियताका लागि पनि त्यसले आफूलाई सहयोग पुगेको उनको अनुभव छ । ”डाँडामा साइक्लिङ गर्दा मुटु र फोक्सोको व्यायाम भइरहेको हुन्छ । काठ चिर्ने अभ्यासले मेरो एकाग्रता बढाउँछ,” उनी भन्छन् ।
हालान्ड म्यानचेस्टर सिटीका लागि मात्रै होइन, नर्वेको राष्ट्रिय टोलीका लागि पनि उत्तिकै उत्कृष्ट खेल्छन् । पछिल्ला वर्षमा उनले सहकर्मी खेलाडीहरुसँग तालमेल मिलाएर खेल्ने शैलीमा पनि निकै सुधार गरेका छन् ।
देब्रे खुट्टाको प्रयोग बढी गर्न रुचाउने उनी दाहिने खुट्टाले पनि गोल गर्छन् ।
हेडरमार्फत गोल गर्न पनि उत्तिकै खप्पिस छन् । डिफेन्डरहरूलाई झुक्याउँदै बक्सभित्र उपयुक्त स्थानमा पुग्न उनी माहिर छन् । विश्वकपको उपाधि जित्न नर्वेका लागि कठिन हुनसक्छ । तर प्रतियोगिताको उत्कृष्ट गोलकर्ताको दौडमा हालान्डले आफूलाई अघि उभ्याउने सामर्थ्य पक्कै राख्नेछन् ।






















