अपराध

जग्गाको साँधलाई लिएर विवाद हुँदा रौतहटमा चक्कु प्रहार, एकजनाको मृत्यु

नवलपुर टुडे
२०८३ असार २४ | बिहान ०९:०३ बजे

रौतहट । रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको मृत्यु भएको छ । जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा ६० वर्षीय वुटन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बेलुका सवा १० बजे जिल्लाको इसनाथ नगरपालिका–३ औरैयामा रामबहादुर साह, उनकी छोरी ज्वाईं वुटन साह र रामाऔतार साह तथा उनका छोरा राम महेश्वर साहबीच जग्गाको विषयमा झगडा भएको थियो ।

कुटपिटका क्रममा राम महेश्वर साहले वुटन साहलाई  पिठ्युमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले बाह्रखरीलाई जानकारी दिए । घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाएकोमा उपचारको क्रममा ११ उनको मृत्यु भएको गौतम बताए ।

रामबहादुर साहलाई टाउकोमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने राम महेश्वर साह र रामाऔतार साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । “उनीहरूबीच पटक–पटक जग्गाको साँधको विषयमा झगडा भएको पाइएको छ,” प्रहरी नायव उपरीक्षक गौतमले भने, “हिजो भने चक्कु नै प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।”

कमेन्टहरु