खेलकुद

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

नवलपुर टुडे
२०८३ असार २४ | बिहान ०६:०३ बजे

काठमाडौँ । गोलरक्षक ग्रेगोर कोबेलको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डले एतिहासिक रुपमा क्वाटरफाइनलमा स्थान बनाएको छ।अब उसले अन्तिम ४ मा प्रवेशका लागि साविक च्याम्पियन अर्जेन्टिनासँग खेल्ने छ। कोलम्बिया विरुद्धको अन्तिम १६ को खेलमा निर्धारित र अरिक्त समय गोलरहित बराबरी खेलेपछि स्विटजरल्यान्डले पेनाल्टी सुटआउटमा ४-३ ले खेल आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा स्थान बनायो।

पेनाल्टी सुटआउटको सुरुआतमै दुवै टोलीका सेन्टर-ब्याकले पेनाल्टी गुमाएका थिए। कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार क्रसबारको भित्री भागमा लागेर फर्किएको थियो भने स्विट्जरल्यान्डका पूर्व म्यानचेस्टर सिटी डिफेन्डर मानुएल अकान्जीले पेनाल्टी आकाशतिर प्रहार गर्दै अवसर गुमाए। तर त्यसपछि कोबेलले कुचो हर्नान्डेजको प्रहार रोक्दै खेलको दिशा बदलिदिए। त्यसपछि सेड्रिक इटेन र रुबेन भार्गासले सफल पेनाल्टी गोल गरे। यसअघि ग्रानिट झाका र जेकी आमडौनीले पनि आफ्नो प्रहार सफल बनाएका थिए।

प्रशिक्षक मुराट याकिनको टोलीले सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। अब उसले आइतबार क्यान्सस सिटी स्टेडियममा साविक विजेता अर्जेन्टिनासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। निर्धारित ९० मिनेट निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोलीले स्पष्ट गोलका अवसर सिर्जना गर्न सकेनन्। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

कोलम्बियाका झोन लुकुमीको कर्नरबाट आएको हेडर क्रसबारमा लागेर फर्किएको थियो। अतिरिक्त समयको पहिलो हाफमा वैकल्पिक खेलाडी जामिन्टोन काम्पाजको टाढाबाट आएको शक्तिशाली प्रहारलाई कोबेलले कठिन शैलीमा बचाए।

अतिरिक्त समयको अन्त्यतिर कोलम्बियासँग जित सुनिश्चित गर्ने सुनौलो अवसर थियो। ग्रानिट झाकाको रक्षात्मक गल्तीपछि प्राप्त मौकामा काम्पाजले घुमाएर हानेको प्रहार गोलपोस्टमाथिबाट बाहिरियो। यही चुक महँगो सावित भयो, किनभने त्यसपछि पेनाल्टी सुटआउटमा कोलम्बिया फेरि निराश बन्यो। यसअघि पनि उसले सन् २०१८ को विश्वकपमा यही चरणमा इङ्ग्ल्यान्डसँग पेनाल्टीमै हार बेहोरेको थियो।

प्रतियोगिताभर केवल एक गोल मात्र बेहोरेको कोलम्बिया अन्ततः प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणमा उसले पोर्चुगललाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको थियो भने अन्तिम-३२ मा घानालाई हराएको थियो। तर भ्यानकुभरको तातो वातावरण र अधिकांश समर्थक कोलम्बियाकै पक्षमा हुँदाहुँदै पनि टोलीले गोल निकाल्न सकेन।

लुइस डियाज र १३१ अन्तर्राष्ट्रिय खेल खेलेर कोलम्बियाका सर्वाधिक खेल खेल्ने खेलाडी बनेका जेम्स रोड्रिगेजले पहिलो हाफमा केही अवसर सिर्जना गर्ने प्रयास गरे। तर प्रभावशाली स्ट्राइकरको अभावले उनीहरूको आक्रमण धारिलो बन्न सकेन। वैकल्पिक खेलाडी जामिन्टोन काम्पाज र हुआन किन्टेरोले केही ऊर्जा थपे पनि काम्पाजले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको अवसर गुमाउँदा टोलीले प्रतियोगिताभर ९४ प्रहारबाट गरेको पाँच गोलको संख्या बढाउन सकेन।

यसअघि अन्तिम-३२ मा अल्जेरियालाई हराएको स्विट्जरल्यान्डले पहिलो पटक एउटै विश्वकपमा दुई नकआउट खेल जितेको छ। अब उसले लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई रोक्दै लगातार दोस्रो विश्वकप उपाधि जित्ने सपना समाप्त पार्ने चुनौती सामना गर्ने छ।

स्विट्जरल्यान्डले यो खेल प्रतियोगिताका उदाउँदा स्टार योहान मान्जाम्बीबिनै खेलेको थियो। चोटका कारण उनी अनुपस्थित हुँदा टोलीले उनको गति र आक्रामक प्रभाव महसुस गर्‍यो। उनले यस विश्वकपमा तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका छन्। त्यस्तै, यसअघि प्रतियोगितामा दुई गोल गरिसकेका रुबेन भार्गास पनि पूर्ण फिट नभएकाले बेन्चबाट मैदान प्रवेश गरेका थिए। तर उनले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

कमेन्टहरु