नदी उत्खननको मार: सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा


कैलाली । तीव्र रूपमा भइरहेको नदी उत्खननका कारण बर्दिया राजापुरका सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा परेको छ । प्रेमनगरकी आशा सोनाहाका अनुसार कर्णाली नदीमा जताततै उत्खनन बढेपछि यो पेसा सङ्कटमा परेको हो ।
उक्त बस्तीका अन्य सोनाहाहरूको दैनिकी पनि नदीमा सुन खोज्ने र माछा मारेर नै बित्ने गर्छ । कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा मात्र बसोबास रहेको र लोपोन्मुख जातिभित्र पर्ने यो सानो तथा सीमान्तकृत आदिवासी समुदायको मुख्य आर्थिक स्रोत नै कर्णाली नदीमा भेटिने सुन र माछा हो ।
कर्णाली नदीमा समूहमा सुन खोज्न व्यस्त रहने सुनिता सोनाहाका अनुसार अन्यत्र ज्यालादारी गरेरभन्दा नदीमा सुन खोजेर बढी आम्दानी हुने गरेको थियो । प्रेमनगरमा मात्रै अहिले १० परिवार यही पुर्ख्यौली पेसामा आबद्ध छन् । जताततै नदी उत्खनन बढेपछि नयाँ र युवा पुस्ता पुरानो पेसा छोड्न बाध्य भएको सङ्गीता सोनाहाले बताइन् ।
पहिलेपहिले एउटै समूहले दिनकै २० लालसम्म सुन भेटाउने गरेको स्मरण गर्दै सङ्गीताले भनिन्, ‘नदी उत्खननले गर्दा अहिले नदीमा सुन भेटाउन निकै मुस्किल पर्ने गरेको छ ।’























