१४ खर्ब डलर जरिवाना माग्दै मेटाविरुद्ध मुद्दा हाल्दै चार अमेरिकी राज्य


वाशिङटन डीसी । बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्म्सले अमेरिकाका चार राज्यले आफूविरुद्ध करिब १४ खर्ब अमेरिकी डलर जरिवाना माग गरेको जनाएको छ। कम्पनीमाथि फेसबुक र इन्स्टाग्रामलाई किशोर तथा युवा प्रयोगकर्तामा लत बस्ने गरी डिजाइन गरेको र ती प्लेटफर्म सुरक्षित रहेको भन्दै सर्वसाधारणलाई भ्रममा पारेको आरोप लगाइएको छ।
मेटाले सोमबार अदालतमा दायर गरेको दस्तावेजमा उक्त जरिवानाको रकम उल्लेख गरेको हो। कम्पनीका अनुसार यो रकम अदालतले राज्यहरूको पक्षमा फैसला गरे जरिवाना कसरी गणना गर्ने भन्ने सम्बन्धमा महान्यायाधिवक्ताहरूले दिएको प्रस्तावमा आधारित छ।
मेटाले भने माग गरिएको जरिवानाको रकम प्रमाणले पुष्टि नगर्ने दाबी गरेको छ। कम्पनीले अदालतमा पेस गरेको प्रतिवेदनमा भनेको छ, “यति ठूलो जरिवानाको उदाहरण उपभोक्ता संरक्षणसम्बन्धी कानुनी इतिहासमै छैन।”
कसरी गणना भयो जरिवाना ?
राज्यहरूको निवेदन गोप्य राखिएको भए पनि जुन महिनाको सुनुवाइमा उनीहरूले राज्य कानुनअनुसार प्रत्येक उल्लङ्घनमा तोकिएको जरिवानालाई उल्लङ्घनको सङ्ख्यासँग गुणा गरेर कुल रकम निर्धारण गरिएको बताएका थिए। उनीहरूका अनुसार मेटाको गतिविधिबाट प्रभावित भएका किशोर तथा युवा प्रयोगकर्ताको अनुमानित सङ्ख्यालाई आधार बनाएर उल्लङ्घनको सङ्ख्या गणना गरिएको हो।
हाल अमेरिकाका २९ राज्यले मेटाविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेका छन्। अधिकांश राज्यले अभिभावकको उचित सहमतिबिना बालबालिकाको व्यक्तिगत विवरण सङ्कलन गरेर कम्पनीले बालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐन उल्लङ्घन गरेको आरोप लगाएका छन्।
अगस्टमा हुने सुनुवाइमा उक्त संघीय कानुनअन्तर्गतका सबै दाबीका साथै चार राज्यले उपभोक्ता संरक्षणसम्बन्धी आफ्ना कानुन उल्लङ्घन भएको भन्दै दायर गरेका मुद्दाको पनि सुनुवाइ हुनेछ।
मेटाले भने सबै आरोप अस्वीकार गर्दै आफूले उपभोक्तालाई भ्रममा नपारेको जनाएको छ। कम्पनीका अनुसार ‘सामाजिक सञ्जालको लत’ हालसम्म चिकित्सकीय रूपमा स्थापित मानसिक रोग नभएकाले आफ्ना प्लेटफर्म लत लाग्ने खालका होइनन् भन्ने दाबी झुटो हुन नसक्ने तर्क गरेको छ।
यसबाहेक थप १४ राज्यले पनि आफ्नै कानुनअन्तर्गत मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। ती मुद्दाको छुट्टै सुनुवाइ आगामी फेब्रुअरीमा हुनेछ।
यसअघि अदालतले मेटाको मुद्दा खारेज गरिदिनुपर्ने माग अस्वीकार गर्दै कम्पनीका सामाजिक सञ्जाल वास्तवमै लत लाग्ने प्रकृतिका हुन् वा होइनन्, कम्पनीले त्यसबारे गलत जानकारी दिएको हो वा होइन तथा बालबालिकालाई लक्षित गरी प्लेटफर्म विकास गरिएको हो वा होइन भन्ने विषयमा तथ्यगत विवाद अझै बाँकी रहेको जनाएको थियो।
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले अदालतको उक्त निर्णयपछि मेटाले बालबालिकाको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाउँदै किशोरहरूको मानसिक स्वास्थ्य संकटमा कम्पनीको भूमिकाका लागि पूर्ण रूपमा जवाफदेही बनाइने बताएका थिए।
मेटा मात्रै नभई स्न्याप, युट्युब, अल्फाबेट तथा टिकटक र यसको मातृकम्पनी बाइटडान्सविरुद्ध पनि बालबालिका र किशोरलाई लत लाग्ने सुविधा जानाजान विकास गरेको आरोपमा संघीय तथा राज्य अदालतहरूमा हजारौँ मुद्दा दर्ता भएका छन्।
























