‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै


नवलपुर । नवलपरासी(बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ । केही वर्षअघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छन् ।
“पहिले घरमा झगडा गर्ने, काममा नसघाउने र धेरै जिद्दी गर्ने गर्थें”,उनी भन्छन् ,“अहिले परिवार, साथी, पढाइ र समयको महत्व बुझेकी छु । यो सबै मैले ‘हाम्रो खुसी’ कक्षाबाट सिकेकी हुँ ।”
गण्डकी प्रदेश सरकारको रु. ७५ लाख र मध्यविन्दु नगरपालिकाको रु. ४१ लाख साझेदारी लगानीमा सञ्चालन गरिएको यो कार्यक्रम हाल नगरभित्रका ६६सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यान्वयनमा रहेको छ ।
कक्षा १ देखि ८ सम्म लागू गरिएको पाठ्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै जीवन उपयोगी सीप, नैतिक मूल्य, भावनात्मक सन्तुलन, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ ।
नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि देवकोटाका अनुसार कार्यक्रमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ । “पहिले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित थियो”, उनले भने, “अहिले उनीहरू परिवार, समुदाय र सामाजिक उत्तरदायित्वसँग जोडिन थालेका छन् । सिकेका कुरा व्यवहारमा उतार्न थालेपछि विद्यालयको वातावरणसमेत सकारात्मक बन्दै गएको छ ।”
मध्यविन्दु –७ की अभिभावक लक्ष्मी न्यौपानेले पनि आफ्नो छोरिमा सकारात्मक परिवर्तन आएको बताइन् । “पहिले विद्यालयबाट आएपछि मोबाइलमै झुण्डिन्थीन”, उनले भनिन्, “अहिले घरका काममा सघाउने, ठूलाबडाको सम्मान गर्ने र जिम्मेवार बन्दै गएको देखेको छु ।”
विद्यार्थीसँगै अभिभावकलाई पनि कार्यक्रमसँग जोड्ने उद्देश्यले यस वर्ष एक हजारभन्दा बढी अभिभावकलाई ‘हाम्रो खुसी’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको नगर प्रमुख भीमलाल अधिकारीले बताए । “हामीले विद्यालयमा मात्र सीमित नभई समुदायमै सकारात्मक सोच र संस्कारको वातावरण निर्माण गर्ने प्रयास गरेका छौं”,उनले भने, “विद्यार्थी, शिक्षक र अभिभावकबिच साझा बुझाइ विकास हुँदा यसको प्रभाव अझ प्रभावकारी देखिएको छ ।”
‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण मध्यविन्दु नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइ केन्द्रका रूपमा समेत स्थापित हुन थालेको छ । यसै शैक्षिक सत्रदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि यो पाठ्यक्रम लागू गरेको छ । विद्यालय, परिवार र समुदायलाई एकै सूत्रमा जोड्दै विद्यार्थीको व्यवहार, सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित सञ्चालन गरिएको ‘हाम्रो खुसी’ कार्यक्रमलाई स्थानीय तहमा शिक्षा क्षेत्रमा गरिएको नवप्रवर्तनात्मक अभ्यासका रूपमा हेरिएको छ ।























