प्रेस स्वतन्त्रतामाथि सरकार–पत्रकार महासंघ आमनेसामने

नवलपुर टुडे


काठमाडौँ । सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै हस्तक्षेप नगर्ने दाबी गरे पनि नेपाल पत्रकार महासंघले सञ्चारमाध्यम र पत्रकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब बढ्दै गएको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघले आइतवार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता ः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक राष्ट्रिय सम्मेलन सरकार र सञ्चार क्षेत्रबीच बढ्दो अविश्वासको बहसमा केन्द्रित रह्यो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले लोकतन्त्रको आधार स्वतन्त्र प्रेस भएकाले सरकारले साइबर कानुन वा अन्य कानुनी प्रावधानको दुरुपयोग गरी पत्रकारिता नियन्त्रण गर्ने नीति नरहेको स्पष्ट पार्नुभयो । मन्त्रालयमा सञ्चारमाध्यमविरुद्ध दैनिक गुनासा आउने गरे पनि सरकारको उद्देश्य मिडिया नियन्त्रण नभई जिम्मेवार पत्रकारिता प्रवद्र्धन रहेको उहाँको भनाइ थियो । आत्मनियमन प्रभावकारी भए सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रसँग संवादमार्फत समस्या समाधान गर्न सरकार तयार रहेको र आन्दोलनभन्दा वार्तालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । साथै, सरकारले पहिलो चरणमा सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने तयारी गरेको जानकारी पनि दिनुभयो ।
मन्त्री तिमल्सिनाले सञ्चार क्षेत्रलाई स्वच्छ, सशक्त, विश्वसनीय र उत्तरदायी बनाउन सरकार सहकार्यका लागि तयार रहेको उल्लेख गर्दै कानुनी दायराभित्र रहेर जिम्मेवार पत्रकारिताको अभ्यास गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । गैरकानुनी दबाब वा माग स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रको हित, संरक्षण र विकासका लागि मन्त्रालय सधैँ सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो ।
यता, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको प्रतिबद्धता व्यवहारमा नदेखिएको आरोप लगाउँदै सञ्चार क्षेत्रमाथि दबाब झन् बढ्दै गएको बताउनुभयो । पत्रकारलाई सूचना स्रोत खुलाउन, समाचार हटाउन र स्वतन्त्र रूपमा काम गर्न अवरोध सिर्जना हुने क्रम बढेको उहाँको दाबी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा संसदीय समितिसम्म सूचना संकलनमा कठिनाइ भएको, सरकार गठनको सय दिन बितिसक्दा पनि सञ्चार क्षेत्रले कुनै सकारात्मक परिवर्तन महसुस गर्न नसकेको र तीन महिनाअघि बुझाइएको ज्ञापनपत्रसमेत बेवास्ता गरिएको भन्दै उहाँले राष्ट्रिय सम्मेलन आयोजना गर्न बाध्य भएको बताउनुभयो ।
अध्यक्ष शर्माले निजी सञ्चारमाध्यममाथि विज्ञापन रोक्ने सरकारी नीतिले मिडिया संस्थालाई आर्थिक रूपमा धराशयी बनाएको, श्रमजीवी पत्रकारको रोजगारी सङ्कटमा परेको र प्रधानमन्त्री कार्यालयको परिपत्र संविधान तथा कानुनविपरीत रहेको आरोप पनि लगाउनुभयो । सम्मेलनबाट जारी हुने घोषणापत्रका आधारमा थप आन्दोलनका कार्यक्रम तय गरिने सङ्केत उहाँले दिनुभयो ।
कार्यक्रममा सहभागी सञ्चार विज्ञ, महासंघका पूर्वअध्यक्ष, विभिन्न पत्रकार सङ्गठनका प्रतिनिधि तथा सञ्चार क्षेत्रका सरोकारवालाले पनि डिजिटल युगमा साइबर कानुन र प्रेस स्वतन्त्रताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । उनीहरूले सरकार, सञ्चारमाध्यम र पत्रकार सङ्गठनबीच निरन्तर संवाद, आत्मनियमन, तथ्यपरक पत्रकारिता र प्रेस स्वतन्त्रताको प्रभावकारी संरक्षण अपरिहार्य रहेको धारणा राख्दै विज्ञापन नीति, कानुनी हस्तक्षेप र पत्रकारको पेसागत सुरक्षालाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















